भरतपुर । तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले गुरूङ (तमू) भाषाको कक्षा सञ्चालन गरेको छ ।
आइतबारदेखि भरतपुरको महाबौद्ध गुम्बामा १५ दिनका लागि भाषा कक्षा सञ्चालन गरेको हो । फरक जिल्लाका गुरूङहरुको वसोवास बाक्लिँदै जाँदा भाषामा पाइने विविधता र नयाँ पुस्ता भाषाबाट विमुख बन्दै गएको हुँदा संरक्षणका लागि पनि भाषा कक्षा अपरिहार्य भएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् ।
गुरूङ जातिको भाषामा आफ्नै किसिमको लिपि छ । तर, अधिकांशले लिपि भुलिसकेको हुँदा हाललाई रोमनबाटै भाषा सिकाइएको छ । सामान्यतयाः आधारभूत शिक्षा प्रदान गर्ने गरी कक्षा सञ्चालन गरिएको प्रशिक्षक उमिता गुरूङले बताइन् । ‘गाउँघरमा नियमित प्रयोग हुने बोलीचालीको भाषालाई प्राथमिकतामा राखेर सिकाइ थालेका छौँ’, उनले भनिन्, ‘आवश्यक परेको खण्डमा यसपछि पनि कक्षा सञ्चालन भयो भने त्यसभन्दा माथिल्लो तहको भाषा सिकाउन सक्छौँ ।’
आफ्नो भाषा सिक्नका लागि प्रशिक्षार्थीहरु अधिकांश महिला दिदीबहिनी छन् । बाबुबाजेकै पालादेखि बोल्न छाडेकाहरुले अल्लि बढी चासो देखाएका छन् । कतिपयले बुझे पनि बोल्न जान्दैनन् । त्यसैले, अवस्था हेरेर भाषा नै नबुझ्नेहरुलाई बुझ्ने बनाउन र बुझ्नेलाई बोल्न सक्ने बनाउन कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।
पछिल्लो समय पुस्तान्तरण हुँदै जाँदा कतिपय शब्द नेपालीकरण भइसकेका छन् । पछिल्लो समय जन्मिएकाहरुले पुरानो कुरा सिक्न नपाउँदा भाषा नै लोप हुने अवस्थामा आइपुगेपछि केही समयकै लागि भने पनि आन्तरिक स्रोत जुटाएर कक्षा नै चलाएको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरूङले बताए ।
कार्यक्रमको उद्घाटनमा प्रमुखअतिथि रहेकी ह्युल छोँज धीँकी केन्द्रीय सल्लाहकार शारदा गुरूङले समय थोरै भए पनि ध्यान दिएर सिक्न आग्रह गरिन् । आफूले सिकेका कुरालाई घरमा पनि सिकाउन सके प्रभावकारी बन्दै जाने उनले बताइन् । ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष एवम् अग्रज चन्द्रमान गुरूङले ठाउँअनुसार भाषामा थोरै भए पनि भिन्नता हुने हुँदा एउटै शब्द पनि फरक हुन सक्ने बताए । त्यस्तो अवस्थामा प्रशिक्षकहरुसँग दोहोरो संवाद गरेर भाषाको सिकाइलाई प्रभावकारी बनाउन सुझाव दिए ।
तमूस्यो ह्युल छोँज धीँ, चितवन, तमू ह्युल छोँज धीँ भरतपुर नगर समिति र तमूस्यो ह्युल छोँज धीँ भरतपुर नगर समिति सहआयोजक बनेर चलाएको भाषा कक्षामा करिब ५० जना सहभागी छन् । १५ दिनसम्मका लागि उमिता गुरूङसँगै तुलमान गुरूङ र सीतादेवी गुरूङले भाषा सिकाउँदै छन् ।