
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा घाइते अवस्थामा उद्धार गरिएकी एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नी शान्तिमाया स्याङतानको घाइते अवस्थामा उद्धार गरिए पनि मृत्यु भएको हो ।
पहिरोमा परी घाइते भएकी ५५ वर्षीय स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा अझै ६ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् ।
पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर बागमती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उद्धारका लागि प्रहरी परिचालन भइसकेको र नजिकैको काभ्रे जिल्लाको सीमामा रहेका प्रहरीले समेत सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।