पोखरा । पोखराबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन्। बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट उनी २८ तोला सुनसहित पक्राउ परेकी हुन् ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीका अनुसार झापा बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङलाई सुनसहित पक्राउ गरिएको हो ।
उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो । बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।
२८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ। उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।