राष्ट्रिय युवा सम्मेलन–२०२३ मध्यबानेश्वरमा तीन दिनसम्म चल्ने

66
0
Share:

काठमाडौं । नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा साउन २५,२६ र २७ गते काठमाडौँमा तीन दिवसीय आवासिय राष्ट्रिय युवा सम्मेलन सुरु गरेको छ ।

साउन २५ गते सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन भने २६ गते सम्मेलनको समापन उपसभामुख इन्दिरा राणामगरले गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ । सम्मेलनमा उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद, उद्यमी, युवा अभियन्तालगायतको व्यक्तित्वहरुद्वारा विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राजधानीको मध्य¬¬ बानेश्वरमा अवस्थित ग्लोवल कलेज अफ म्यानजमेन्टको सभा हलमा आयोजना गरिने उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघले यस वर्षको अन्तर्राष्ट्रीय युवा दिवसको सन्दर्भमा तय गरेको ‘युवाका लागि हरित दक्षता ः दिगो भविष्यतर्फको यात्रा ‘ भन्ने नाराका साथ नेपाल युवा परिषदले सम्मेलन गर्न लागेको हो । सम्मेलनमा मुख्य गरी युवाको लागि दिगो विकास लक्ष्यहरु, जलवायु परिवर्तनको लागि पहल, लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनना युवा र सुशासन गरी ६ वटा प्रमुख पक्षहरुमा विषयविज्ञहरुको प्रस्तुति तथा सहभागीहरूद्धारा अन्तरक्रिया र गहन छलफल हुने जनाइएको छ ।

सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरु गरी जम्मा २२० जनाले सहभागिता जनाउने संघले जनाएको छ् । आयोजकले सम्मेलनमा सहभागिताको लागि आह्वान गरेकोमा देशभरबाट ११११ जनाको आवेदन परेकोमा आफ्नो स्थायी बसोबास रहेको पालिकामा सामाजिक कार्य, व्यापार–व्यवसायजन्य क्रियाकलापहरुमा संलग्न रहेको भनि स्थानीय तहबाट सिफारिसपत्र पेश गरेका सक्रिय, ऊर्जावान तथा कम्तीमा पनि प्रविणता तह उत्तिर्ण गरेको युवाहरुमध्ये निष्पक्ष मूल्याङ्कन गरी सहभागिताका लागि २२० जना युवाहरु आयोजकले छनोट गरेको हो ।

सम्मेलनमा विभिन्न समुदायको सांस्कृतिक पहिचान तथा विविधता झल्किने ‘सांस्कृतिक साँझ’ समेत आयोजना गरिने कार्यक्रम राखिएको छ ।
नेपाल युवा परिषदले सन् २०१५ देखि निरन्तर अविचलित देशभरका सक्रिय, होनहार तथा सचेष्ट युवाहरुलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न उपलब्धिमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्