काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताए ।
सर्वसाधारणमा दिइने विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङले बताए । आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।
प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङको भनाइ छ । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।