विराटनगर महानगरका मेयरलाई प्रश्न गर्दा हिरासतमा थुनिइन महिला !

Share:

माेरङ । विराटनगर महानगरका मेयर नागेश कोइरालालाई ‘अभद्र व्यवहार गरेको’ आरोपमा थुनामा रहेकी अभियन्ता इन्दिरा चापागाईंसँग जिल्ला प्रशासन कार्यालय मोरङले एक सय रुपैयाँ धरौटी माग गरेको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बिहीबार उनलाई एक सय रुपैयाँ धरौटी माग भएको र सो रकम बुझाएर उनी केहीबेरमा छुट्ने जानकारी दिए। बिहीबार जिल्ला प्रशासनको इजलासमा उनलाई अबदेखि यस्तो नगर्ने कागजमा हस्ताक्षर गराउन खोजिएको थियो। तर, उनले आफूले कुनै गल्ती नगरेको बरू जेल जान तयार रहेको जवाफ दिएकी थिइन्।

शैक्षिक सुधारको माग राखेर निरन्तर अभियानमा लागेकी उनलाई मेयर कोइरालाको निर्देशनमा महानगरले उजुरी दिएको थियो। उनलाई प्रहरीले साउन १५ मा पक्राउ गरेर थुनेको थियो। उनी पक्राउ परेयता  उनका पति बिरामी भएर कोशी अस्पतालमा उपचाररत छन्।

यसपटक विराटनगर–५ स्थित गोग्राहा माविमा नाफामूलक उद्देश्यबाट सञ्चालन गरिएको कलेजलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने महानगरको निर्णयको विपक्षमा उभिइन् त्यही वडाकी बासिन्दा इन्दिरा।

‘सँगैको गोग्राहा माविलाई सुधार्ने, राम्रो बनाउने काममा ध्यानै नदिने महानगर र मेयर नागेश कोइरालाले निजी कलेजलाई किन महानगरको पैसा दिएको ?,’ इन्दिरा यही प्रश्न गर्दै महानगर परिसरमा एक्लै विरोध प्रदर्शनमा उत्रिइन्। उनी गेटमा एक्लै नारा लगाइरहेको देख्दा मेयर कोइराला र अन्य जनप्रतिनिधि उनलाई छलेर पछाडिको गेटबाट कार्यालय छिर्थे। जेठदेखि साउन १५ सम्मै यो लुकामारी चलिरह्यो।

इन्दिरा थाकिनन्। टाउकोमा रातो फेटा, हातमा नेपालको राष्ट्रिय झण्डा र सामुदायिक विद्यालय सुधारको माग गरिएको कागजे ब्यानर बोकेर एक्लै नारा लगाइरहिन्। उनी नारामात्रै लाउँथिनन्, मेयरलाई परैबाट भए पनि प्रश्न गर्थिन्, ‘गोग्राहा स्कुललाई सहयोग गर्नुको साटो नाफा कमाउने कलेजलाई किन सहयोग गरेको?’

विराटनगरमा लामो समयदेखि जिम्मेवार व्यक्तिहरूलाई यस्तै ‘अराजक’ शैलीमा प्रश्न गर्दै आएकी उनलाई जवाफ कसैले दिँदैनन्। ‘मनोरोगी’, ‘अराजक’ जस्ता संज्ञा दिएर मेयरदेखि सांसदहरूसम्म उम्किँदै आएका छन्। लामो समयदेखि सामुदायिक विद्यालय सुधारको माग गरेर एक्लै अभियान चलाइरहेकी उनको भागमा भने सधैं  बेवास्ता मात्रै पर्दै आएको छ।  जिम्मेवारहरूले जतिसुकै बेवास्ता गरे पनि इन्दिरा आफ्नो अभियानमा डटिरहेकी छन्।

गर्मी होस् या जाडो, इन्दिरालाई यिनै सामग्रीसहित कहिले विराटनगर महानगरको परिसरमा भेटिन्थ्यो कि प्रदेश सभा परिसरमा। पछिल्लो दुई सातायता उनी यी दुवै ठाउँमा भेटिन्न थिइन । चर्को स्वरमा एक्लै नारा लगाइरहने उनी प्रहरी हिरासतमा पुगेको सोमबार आठौं दिन पूरा भएको छ। सोमबार मोरङ प्रहरीले फेरि आठ दिनका लागि दोस्रोपटकलाई  म्याद थप गरेपछि उनको हिरासत यात्रा लम्बिने निश्चित भएको छ।

उनीमाथि अभद्र व्यवहारको मुद्दामा ‘अनुसन्धान’ जारी रहेको प्रहरीको भनाइ थियो। ‘मेयर नागेश कोइरालालाई सधैं प्रश्न गर्दै आएकी उनलाई ‘अभद्र व्यवहार’ मा मुद्दा चलाइएको थियो। महानगर आफैंले जिल्ला प्रशासनमा उजुरी दिएर इन्दिरालाई पक्राउ गर्न लगाएको हो। यसबीचमा मेयरले एक जना अभियन्ता महिलालाई मुद्दा लगाएको भनेर धेरै आलोचना भएपछि मेयरले प्रहरीमार्फत् इन्दिरालाई खबर पनि पठाएका थिए ‘यदि माफी माग्ने हो भने मुद्दा फिर्ता लिइदिन्छु।’

माफी मागेको कागजमा हस्ताक्षर गरे तत्कालै छोडिदिने खबर सुनाउने प्रहरीलाई उनले उल्टै थर्काइन् ‘मैले के गल्ती गरेको छु र माफी माग्नलाई ? बरू यहीँ हिरासतमा बस्छु। तर, माफी माग्दिनँ।’

कमेन्ट गर्नुहोस्