रास्वपाको टिमले वाकीटकी बोकेको विषय विवादमा, के सबैले किनेर बोक्न पाउँछन् वाकीटकी ?

Share:

काठमाडौं । वाकी टकी प्रयोगको विषयलाई लिएर अहिले राष्ट्रिय स्वतन्त्र पार्र्टीको ¥यापिड एक्सन टिम ‘¥याप’ विवादमा तानिएको छ । प्रायः नेपाल प्रहरीको टोलीले प्रयोग गरिरहेको देखिने वाकी टकी सर्वसाधारणले प्रयोग गर्न पाउँछन् वा पाउँदैनन् भन्ने तपाईँमा कौतुहलता लाग्न सक्छ । प्रहरी प्रधान कार्यालयले वाकीटकी जसले पायो त्यसले बोक्न नमिल्ने बताएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर खतायतले भने, ‘वाकी टकी प्रयोग गर्न एउटा निश्चित मापदण्ड छ । त्यसका लागि सूचना तथा सञ्चार मन्त्रालय तथा गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । स्वीकृति दिँदा अरु सुरक्षा निकायको फ्रिक्वेन्सीसँग मेल नखाने गरी दिइन्छ ।’ वाकी टकीको प्रयोगका लागि गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिनुपर्ने प्रावधान रहेको छ । वाकीटकी प्रयोगको स्वीकृति प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर मात्रै दिने गरिन्छ । प्रहरीले सुरक्षा निकायसँग मेल नखाने गरी फ्रिक्वेन्सीको एक्सेस हुने गरी वाकी टकी राख्न पाउने गरी स्वीकृति दिन्छ ।

प्रहरीले कुन खालको फ्रिक्वेन्सी प्रयोग गर्न दिने हो भन्ने सिफारिस गरेपछि मात्रै वाकी टकी प्रयोग गर्न पाइने व्यवस्था रहेको छ । वाकी टकी छोटो दूरीको फ्रिक्वेन्सीको लागि मात्रै प्रयोग गर्न पाइने व्यवस्था रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर खडायतले जानकारी दिए । ‘एक–डेढ किलोमिटर टाढाको रेन्जमा मात्रै टिप्ने र अरुसँग फ्रक्वेन्सी नमिल्ने मापदण्ड प्रयोग गरेर मात्रै वाकीटकी प्रयोग गर्न पाइन्छ’, प्रवक्ता खडायतले अनलाइन पानासँग भने । गृह मन्त्रालयसँग स्वीकृति नलिई वाकी टकी प्रयोग गरेमा भने सिडियो कार्यालयले कारबाही गर्नेछ ।

वाकीटकीको प्रयोग भने निजी र सरकारी दुवै क्षेत्रमा भएको पाइन्छ । कतिपय ठूलाठूला होटलहरुमा पनि वाकीटकीको प्रयोग गरेको पाइन्छ । गएको चैतमा दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्ना सबै वडामा वाकी टकीका सेटहरु बाँडेको थियो । एक गैरसरकारी संस्थाले दिएको वाकीटकी सबै वडामा विपदको बेलामा सबैलाई जानकारी गराउन सजिलो हुने र उद्दारमा खट्न र खटाउन पनि सहज हुने भएकाले वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष हुमाकान्त सापकोटाले जानकारी दिए । तर अहिले ती वाकीटकीको प्रयोग ब्याट्री नभएर नगरिएको सापकोटाको भनाई छ ।

त्यसो त मान्मारकी नेतृ आङ साङ सू चीलाई पनि गएको जनावरीमा घरमा वाकीटकी राखेको भन्दै सजाय सुनाइएको थियो । वाकी टकीको माध्यमबाट गोप्य सूचनाहरु सुनेको, सुरक्षाको विषयलाई खलल पुर्याएको आरोप उनीमाथि लागेको छ ।

वाकीटकी ब्याट्रीबाट संचालित ह्यान्डसेट ट्रान्समिटर हो (जुन रिसिभरको रूपमा दोब्बर हुन्छ), जसमा रेडियो तरंगहरू पठाउन र प्राप्त गर्नको लागि एन्टेना, एक लाउडस्पीकर हुन्छ जसले प्रायः माइक्रोफोनको रूपमा पनि काम गर्छ । र, पुश–टु–टक बटन थिचेर बोल्दा तपाईँको आवाज फ्रिक्वेन्सीमा थकेलिन्छ ।

त्यसो भए वाकीटकीले कसरी काम गर्छ?

वाकी टकी च्यानल, वा फ्रिक्वेन्सी ब्यान्डसँग जोडिएको हुन्छ । जब कोही कुरा गर्न चाहन्छन्, तिनीहरूले आफ्नो लाउडस्पीकरलाई माइक्रोफोन प्रकार्यमा स्विच गर्छन, र पुश–टु–टक बटनलाई थिच्छन अनि उनीहरुले बोलेको आवाज फ्रिक्वेन्सी मार्फत अन्य व्यक्तिहरुको सेटमा जान्छ ।
जब व्यक्तिहरु बोल्छन्, तिनीहरूका शब्दहरू रेडियो तरंगहरूमा परिणत हुन्छन् र च्यानलमार्फत प्रशारण हुन्छन् । रेडियो तरंगहरू इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम भित्र पर्दछन् र त्यसैले प्रकाशको गतिमा ९१८६,००० माइल प्रति सेकेन्ड यात्रा गर्छन् । र अन्य ह्यान्डसेटहरूले तुरुन्तै त्यो महसुस गर्छन्, जहाँ तिनीहरू कम्पन वा अस्थिर विद्युतीय धारामा परिणत हुन्छन् र स्पिकरमा आवाजको रुपमा प्रसारण हुन्छन् ।

तर नेपालमा एक वर्ष अघि नै चिनियाँ ब्रान्ड एबलका वाकी टकी भित्रिएका थिए । डिकेड इन्टरनेसनल प्रालिले नेपालमै पहिलो पटक लाइसेन्स नलिएर पनि प्रयोग गर्न मिल्ने वाकी टकी ‘एलटीई पीओसी रेडियो’ नेपाल भित्र्याएको जनाएको थियो । यो वाकी टकी जीएसएम मोबाइल नेटवर्क टुजी, थ्रीजी र फोरजीमा चल्ने गरी निर्माण गरिएको थियो । यसको अर्थ अन्य वाकी टकी जस्तो यसका लागि फ्रिक्वेन्सी नचाहिने र मोबाइल नेटवर्कमै काम गर्ने बताइएको थियो ।

तर यसको बेफाइदा भनेको मोबाइल नेटवर्क नआउने ठाउँमा भने यसले काम गर्दैनथ्यो । छुट्टै फ्रिक्वेन्सीमा चल्ने वाकी टकीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पनि लाइसेन्स लिनुपर्ने हुन्छ ।

बिक्रेताले मात्र नभई, प्रयोगकर्तालाई समेत यस्तो लाइसेन्स आवश्यक पर्दछ । तर मोबाइल नेटवर्कमा काम गर्ने उपकरण भएकाले नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप अप्रुभल लिएको र आईएमईआई समेत दर्ता गरेर ती वाकीटकी बजारमा ल्याइएको कम्पनीले जनाएको थियो ।
उक्त वाकीटकीको माध्यमबाट एकै पटकमा धेरै डिभाइसमा एकैसाथ कुरा गर्न मिल्छ । वाकी टकीमा भ्वाइस रेकर्डको सुविधाका साथै जीपीएस लोकेसन ट्र्याकिङ र इमर्जेन्सी बटन लगायतका फिचर रहेका छन । यसका साथै यो डिभाइसबाट मोबाइलमा कल गर्ने सिस्टम समेत अन गर्न सकिन्छ ।

यसमा छुट्टै डेटा सिम हुने र ६४ केबीपीएसको इन्टरनेट डेटामा यसले काम गर्ने कम्पनीको भनाई छ । प्रयोग भएअनुसार त्यसका लागि ग्राहकले नियमित सर्भिस चार्ज कम्पनीलाई बुझाउनु पर्ने हुन्छ ।

अहिले रास्वपाका टिमले कुन प्रकारको वाकी टकी प्रयोग गरेको हो भने चर्चा भइरहेको छ। अझ धेरैले प्रहरी, गृहमन्त्रालय कतैबाट स्वीकृति नलिइ वाकीटकी प्रयोग गरेको भनेर रास्वपाको आलोचना भइरहेको छ । प्रहरीले पनि वाकी टकी प्रयोग गर्नेको खोजी भइरहेको बताएको छ । केही दिन अघि सडक खुलाउन भन्दै रास्वपाको एक टिम सडकमा खटेको बेला वाकीटकी बोकेको फोटो सामाजिक सञ्जालमा चर्चाको विषय बनेसँगै वाकीटकीको विषयमा चर्चा बढेको हो ।

कमेन्ट गर्नुहोस्