मधेशमा नागरिकता लिनेको चापः प्रशासनमा आउँछन् सिफारिश नदिएको गुनासोदेखि नक्कली नागरिकता लिएको उजुरी

79
0
Share:

काठमाडौं । जन्मसिद्ध नागरिकता भएका बुबाआमाका सन्तानले वंशजको नागरिकता लिन पाउने गरी नागरिकताको नयाँ ऐन जारी भएसँगै मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा कामको चाप थपिएको छ ।

कामको चापसँगै केही विवादहरु देखा परेको अधिकारीहरुले बताएका छन् । नक्कली नागरिकता बनाएको, भारतीय नागरिकले आएर नेपालमा नागरिकता लिने प्रयास गरेको भन्दै केही मौखिक र केही लिखित उजुरी समेत मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा आउने गरेको अधिकारीहरु बताउँछन्। केही ठाउँमा भने कागजपत्र सबै देखाउँदा पनि वडाले सिफारिश रोकिदिएको गुनासो समेत सुनिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता दिने कामको बाटो खुलेको हो । तर कतिपय वडाहरुले नागरिकता लिन चाहिने सिफारिश दिन आनाकानी गरेको गुनासो पनि जिल्ला प्रशासन कार्यालयमा जाने गरेको अधिकारीहरुको भनाई छ ।

नक्कली नागरिकता बनाउन आउने पनि भेटिएका छन्ः जिप्रका पर्सा

पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अनलाइन पानासँग भने, ‘पहिला नागरिकता लिनका लागि बुबाआमाको नागरिकता नै मुख्य कुरा हो । जन्म मिति खुल्ने प्रमाणपत्र, सर्टिफिकेट, अनुसूचीअनुसारका डकुमेन्ट भेरर वडा कार्यालयबाट सिफारिश ल्याउनुपर्यो । स्थायी बसोबास प्रमाणित गर्ने जन्म दर्ता, जन्मेको प्रमाणपत्र, घर परिवारका सदस्यको नाममा कतै जग्गा छ भने त्यसको प्रमाण पनि राख्ने प्रचलन छ ।’

उनले थप भने, ‘पहिला पहिला लिएका केही नागरिकता शंकास्पद भएका, झुटा भएका पनि छन् र त्यस्ता नागरिकता खारेज पनि भएका छन् । त्यसकारण शंकास्पद भयो भने मुचुल्का पनि लगाउन आवश्यक पर्छ । हामीले केही केही डकुमेन्टहरु अप्सनल पनि राखेका छौं ।’ लम्सालले नक्कली नागरिकता लिएका व्यक्तिको नागरिकता खारेजी र लिने र दिने दुवैलाई कारबाही हुने बताए । उनले भने, ‘कीर्ते नागरिकताको अनुसन्धान प्रहरीले गर्छ, केही नागरिकता सिडिओ कार्यालयले खारेज गर्छ भने केही गृह मन्त्रालयअन्तर्गतबाट कारबाही हुन्छ ।’

‘झुटो विवरण लिएर नागरिकता बनाउन आउने, छोराछोरीको नागरिकता लिन आउँदा बुबा–आमाकै नागरिकता नक्कली भएको पनि हामीले भेट्टाएका छौं’, सहायक प्रजिअ लम्सालले थप भने, ‘तर त्यस्तो संख्या थोरै छ । वीरगञ्जको वडा नम्बर एकबाट केही झुटा सिफारिश बनाएर नागरिकता बनाएको भनेर हामीलाई प्रमाणसहित निवेदनसमेत आएको छ । त्यसलाई हामीले अनुसन्धान गरिरहेका छौं । अन्य वडाहरुबाट पनि त्यस्तो विवरणहरु आएको छ । झुटा विवरण लिएर नागरिकता बनाएको कुनै सूचना पाए हामी त्यस्तोमा तुरुन्त कारबाहीका गछौं ।’

पर्सामा अहिले जन्मसिद्धको आधारमा वंशजको नागरिकता लिनेको संख्या करिब चार हजार भएको लम्सालले बताए । अहिले दैनिक जन्मको आधार १०० जनालाई नागरिकता दिइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अहिले कामको चाप पहिलाभन्दा केही मात्रामा घटेको लम्सालको भनाई थियो ।

मधेशमा नागरिकता लिनेको चाप कायमै

मधेश प्रदेशका जिल्लाहरुमा अहिले नागरिकता वितरणको काम तीब्र रुपमा भइरहेको छ । नयाँ नागरिकता ऐन जारी भएसँगै गएको असार ८ र १० गतेबाट जन्मसिद्धको आधारमा नागरिकहरुलाई नागरिकता दिने काम सुरु भएको मधेश प्रदेशमा अहिले पनि केही जिल्लामा सेवाग्राहीको चाप रहेको अधिकारीहरुले बताएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लामा नागरिकता लिनेहरुको भीड अझै धेरै रहेको छ । जिल्लामा यो अवधिमा १३ हजारको हाराहारीमा नागरिकता वितरणको काम भएको प्रमुख जिल्ला अधिकारी दाहालले अनलाइन पानालाई जानकारी दिए । त्यस्तै जन्मसिद्ध नागरिकताको आधारमा वंशजको नागरिकता लिन सात हजारभन्दा बढीको निवेदन पेश भएको र कार्यालयले २५ सयको हाराहारीमा जन्मसिद्ध नागरिकता भएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिएको जानकारी दिए । जिल्लामा दैनिक सय वटा नागरिकताहरु जारी भइरहेको प्रजिअ दाहालले बताए ।

त्यस्तै नक्कली नागरिकता लिएको आशंकामा ११३ वटा नागरिकताको छानबिन पनि भइरहेको दाहालले बताए । ‘नक्कली हस्ताक्षर गरेर नागरिकता लिएको आशंकामा ११३ वटा जारी भएका नागरिकताको अध्ययन भइरहेको छ । हामीले सम्बनिधत अधिकारी मार्फत त्यसको भेरिफिकेसन गर्ने काम गरिरहेका छौं’, दाहालले अनलाइनपानासँगको कुराकानीमा भने । जनसंख्या धेरै भएका कारण काममा चाप पनि रहेको धनुषा जिल्ला प्रशासन कार्यालयमा भारतीय नागरिकले नागरिकता लिएको/नक्कली नागरिकता लिएको भनेर ६५ वटा उजुरी पनि आएको दाहालले खुलाए ।

महोत्तरीमा भने नागरिकता सामान्य अवस्थामा वितरण भइरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए । उनले इलाका प्रहरी कार्यालय भएका दुई तीन ठाउँबाट नागरिकता दिने व्यवस्था मिलाएका कारण काम सहज तरिकाले भइरहेको बताए । महोत्तरीले नागरिकता जारी भएपछि गएको असार ८ गतेबाट जन्मसिद्धका आधारमा नागरिकता लिएका नागरिकका सन्ततिलाई वंशजको आधारमा नागरिकता दिन थालेको थियो । महोत्तरीमा भने सहज रुपमा काम भइरहको प्रजिअ पहाडीले जानकारी दिए ।

सर्लाही जिल्लामा पनि नागरिकता लिनेहरुको भीड रहेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जन्मसिद्धको आधारमा वंशजको नागरिकता लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ । प्रजिअ यादवले काम गर्न जनशक्तिको कमी भएका कारण थप जनशक्ति पनि मगाउने काम भइरहेको बताए । सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा आगलागी भएका कारण त्यहाँका पुराना दस्तावेज जलेको थियो । त्यही कारण प्रतिलिपी दिन भने समस्या भएको प्रजिअ यादवले अनलाइनपानालाई जानकारी दिए । उनले सर्जिमिन मुचुल्का उठाउने काम धेरै गर्नुपरेको र त्यसलाई लिएर सेवाग्राहीले झण्झट महसुस गरेको पनि बताए ।

सिराहामा पनि नागरिकता लिनेहरुको भीड लागेको त्यहाँका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । सिराहामा १३ सयभन्दा बढी नागरिकले जन्मसिद्धको आधार बनाएर वंशजको नागरिकता लिइसकेको प्रजिअ पाण्डेले जनकारी दिए । दुईँ ठाउँबाट नागरिकताको काम गर्दा पनि राहदानी, मिटरब्याज, नागरिकता सबैतिरबाट काममा चाप रहेको प्रजिअ पाण्डेको भनाई छ । जनशक्ति कम भएका कारण पनि समस्या आएको पाण्डेले बताए । सिराहामा भने लिखित रुपमा नागरिकता सम्बन्धी कुनै उजुरी नआएको र ढिलासुस्ती भएको भन्ने सेवाग्राहीहरुको गुनासो मात्रै रहेको प्रजिअ पाण्डेले अनलाइन पानालाई बताए ।

रौतहटमा पनि पछिल्लो नागरिकता ऐन जारी भएपछि नागरिकता लिनेहरुको भीड लागेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । रौतहटमा पछिल्लो पटक जारी भएको नागरिकता ऐनको आधारमा जन्मसिद्धको आधारमा वंशजको नागरिकता लिनेको संख्या १४ सय नाघेको प्रजिअ मिश्रले जानकारी दिए । टायम कार्ड र टोकन प्रणाली मार्फत काम गरेकाले पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर काम काम सम्पन्न भइरहेको मिश्रले बताए ।

रौतहटमा वडा अध्यक्षहरुले नागरिकता बनाउन सिफारिश दिन नमानेको गुनासो लिएर आफूहरुलाई भेट्न सेवाग्राही आउने गरेको मिश्रले अनलाइनपानालाई बताए । ‘सबै कागजपत्र हुँदा पनि वडा अध्यक्षहरुले सिफारिश बनाउन झुलाइदिने, सिफारिश नबनाइदिने गरेको निवेदन लिएर सेवाग्राहीहरु आउनु हुन्छ । आज मात्रै पनि दुईजनाले त्यस्तो गुनासो लिएर आउनुभएको थियो । यस्तो चाहिँ समस्या देखिएको छ’, प्रजिअ मिश्रले भने । वडाले सिफारिश दिएको खण्डमा मात्रै नागरिकता बन्ने भएका कारण वडा अध्यक्षहरुले काम नगरिदिनुमा कुनै आर्थिक लोभ लिन खोजेको जस्तो पनि केही सेवाग्राहीहरुको गुनासो भएको मिश्रले अनलाइनपानालाई जानकारी दिए ।

बारमा पनि नागरिकता लिनेहरुको भीड रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार नयाँ नागरिकता ऐन जारी भएसँगै जन्मसिद्ध नागरिकको आधारमा २३ सय नागरिकताहरु बारामा जारी भएको छ । नक्कली कागजपत्र देखाएर नागरिकता लिनेहरु वडा तहबाटै प्रश्न गर्न थालेपछि भागेको सूचनाहरु आफूलाई आउने गरेको प्रजिअ सापकोटाले जानकारी दिए । तर नक्कली नागरिकता लिएको भनेर लिखित निवेदन नै नआएको सापकोटकाको भनाई छ ।

नयाँ नागरिकता ऐनका आधारमा बुबा र आमा दुवैको नागरिकता भएकालाई मात्रै नागरिकता दिने काम भएको छ । अहिले पनि बुबा वा आमाको नागरिकता नभएका कारण नागरिकता लिन नपाउनेहरुको संख्या धेरै रहेको मधेशका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । बुबाको मृत्यु भएको र आमाको नागरिकता नभएको, नागरिकता नबनाई आमाको मृत्यु भएको जस्ता समस्या लिएर सेवाग्राहीहरु अहिले पनि जिल्ला प्रशासन कार्यालयमा आउने गरेको मधेशका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुबा र आमा दुवै जनाको नागरिकता नभएका व्यक्तिहरु नागरिकता बनाउन भनेर आउने गरेको र उनीहरुलाई फर्काइदिने गरेको बताए । उनले नयाँ नागरिकता ऐनलाई सम्बोधन गर्ने गरी नागरिकता नियमावली आएमा काम गर्न सहज हुने पनि बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले अहिले तराईँका जिल्लाहरुमा मिटरब्याजको मुद्दा, स्थानीय तहमा समाधान नभएका न्यायिक समितिका मुद्दा, राहदानीलगायतको कामको चाप रहेको बताए । यो सँगै अहिलेको नयाँ नागरिकता ऐनका कारण बुबा वा आमाको नागरिकता नभकएका वा त्यस्तै समस्याका कारण लिएर समाधान खोज्दै आउनेहरुको पनि संख्या धेरै रहेको पहाडीको भनाई छ । अहिले आएको नागरिकता ऐनलाई सम्बोधन हुने गरी नियमावली चाँडै जारी भए थप समस्यामा भएका नागरिकले पनि नागरिकता बनाउन सक्ने पहाडी बताउँछन् । सरकारले ऐन जारी गरे पनि त्यससँग सम्बन्धित नियमावलीहरु बनाइसकेको छैन । कतिपय नागरिकहरु नियमावली कुरेर बसेको जिल्ला प्रशासनका अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्