
रुकुम पश्चिम- मुसिकोट नगरपालिकाले नियम विपरीत निर्माण भएका भौतिक संरचना हटाउन ३० दिने सूचना जारी गरेको छ। सडक छेउमा निर्माण गरिएका घर, टहरा, घुम्ती हटाउन पालिकाले सार्वजनिक सूचना जारी गरेकाे हो ।
सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरे अनधिकृत संरचना हटाउन भौतिक रूपमा तथा कानुनी रुपमा नै उत्रिने पालिकाले जनाएको छ। खास गरी बजार क्षेत्रमा सडक छेउमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत लाभ लिने प्रवृत्ति बढ्दो रहेकाेले सूचना जारी गरेर काम अगाडि बढाउनुपर्ने अवस्था आएकाे पालिकाले जनाएकाे छ।
सडक छेउमा जथाभावी बनाइएका घर, टहरा तथा घुम्तीहरुले सडक दुर्घटना बढ्ने र पैदल यात्रीलाई समेत असर पार्ने हुँदा उक्त स्थानमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिए । खड्काका अनुसारअनाअधिकृत तथा मापदण्डविपरीत बनेका भौतिक संरचनाको नियमन गरी त्यसलाई कानुनी दायरामा ल्याउने काम सुरु बताए ।
नगरपालिकाको बजार क्षेत्र बागबजार, खलंङ्गा र सल्ले मुख्य सडक आसपास अनधिकृत रूपमा बनेका संरचना हटाउनका लागि सार्वजनिक सूचना जारी गरिएको छ। बाटोको छेउमा टहरा बनाएर आमजनजीवनमा बाधा पुर्याईरहेको भन्दै नगरपालिकाले ३० दिन भित्र घर, टहरा हटाउन सुचना जारी गरेको हो।