प्रहरी निरीक्षकलाई कारबाही माग गर्दै मायादेवीका जनप्रतिनिधि जिल्ला प्रशासन

Share:

कपिलवस्तु — मायादेवी गाउँपालिकाका जनप्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमानसँगै ७ जना वडाध्यक्षले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाएका हुन् । जनप्रतिनिधिहरुले प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय र लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र पठाएको बताएका छन् । ज्ञापनपत्र बुझाउने समूहमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरी सँगै थिए ।

उक्त इप्रका गाउँपालिकाको केन्द्रमा पर्छ । प्रहरी निरीक्षकका गतिविधि स्थानीयवासीलाई दुःख दिने नियत देखिएकाले खबरदारी गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष मुसलमानले बताए ।

गत आइतबार राति ८ बजेतिर पानी परिरहेका बेला इप्रका अघिको बाटोमा सवारी जाँच गरेर क्षेत्रीले अनावश्यक दुःख दिने ब्यवहार गरेको गुनासो आएपछि सहजीकरणका लागि पुगेका जनप्रतिनिधिलाई पनि दुर्व्यवहार गरेको मायादेवी–३ का वडाध्यक्ष शैलेन्द्र यादवले बताए । गाउँपालिका र इप्रकाबीच विवाद बढेपछि सोमबारदेखि प्रहरीले ठाउँठाउँमा सबारी चेकिङका नाममा सर्वसाधारणलाई सास्ती दिइरहेको आरोप पनि अध्यक्ष मुसलमानले लगाएका छन् ।

सोमबार गाउँपालिकाको कार्यपालिका बैठकले इप्रका पकडी अन्तर्गतका प्रहरी चौकीको घरभाडा लगायतका अन्य सुविधा नदिने निर्णय गरेको थियो ।

प्रहरी निरीक्षक क्षेत्री भने जाँच प्रहरीको नियमित काम भए पनि कागजपत्र नभएका सवारीसाधनलाई कारबाही गरेको विषयलाई ठूलो बनाउन खोजिएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्