
एजेन्सी । युरोपेली विजेता इङ्ल्यान्डले अस्ट्रेलियामा आइतवार हुने महिला विश्वकप फुटबलको फाइनलमा स्पेनविरुद्ध जित निकालेर एक वर्षभित्र दोस्रो इतिहास रच्ने लक्ष्य राखेको छ।
सिड्नीस्थित स्टेडियममा आज हुन गइरहेकाे प्रतियाेगिताकाे फाइनलमा स्पेन र इङ्ल्यान्ड एक अर्कालाई जित्न तयार रहेका छन् । स्पेन र इङ्ल्यान्डबीच महिला विश्वकप फुटबलको फाइनल खेल प्रत्यक्ष हेर्न सिड्नीस्थित स्टेडियममा करिब ७५ हजार मानिसहरू हुने ठानिएको छ।
दुवै टोली यसअघि महिला विश्वकप फुटबलको फाइनलमा पुगेका थिएनन्। सन् १९६६ पछि पहिलो पटक सिनिअर समूहमा विश्वकप उपाधि जित्ने आशाका साथ इङ्ल्यान्डका ‘लायनेस’ टोली समर्थकहरू सिड्नी पुगेका छन्। स्पेनको ‘ला रोखा’ टोलीको भने याे तेस्रो विश्वकप फुटबल यात्रा हो।
सिड्नीस्थित स्टेडियममा फ्यानकाे सहभागिता
स्पेनका खेलाडीहरूले अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अन्तिमका केही मिनेटमा गोल गरेर स्वीडनलाई पराजित गरेका थिए। महिला विश्वकप फुटबलको यसपटकको नवौँ संस्करणमा जित हात पार्ने टाेली पाँचौँ देश विश्व विजेता बन्नेछ।
यसअघि चारवटा देशहरुमा संयुक्त राज्य अमेरिकाले चार पटक, जर्मनीले दुईपटक र नर्वे अनि जापानले एक-एक पटक महिला विश्वकप फुटबल उपाधि जितेका छन्। “सबैजनाले सन् १९६६ को कुरा गरिरहेका छन्, त्यही भएर हामीले आइतबार आफ्नो उत्कृष्ट दिनुपर्नेछ र सफल बन्ने प्रयास गर्नुपर्नेछ,” इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगमेनले भनिन्।
सन् १९६६ मा इङ्ल्यान्डले पहिलोपटक पुरुष विश्वकप फुटबलको उपाधि जितेको थियो। विगमेनले फाइनल पुग्नु विशेष भएको उल्लेख गर्दै आफूहरू विजेता बन्न चाहेको बताएकी थिइन्। विश्व विजेता बन्ने सपना बोकेको इङ्ल्यान्डको टोलीले १३ महिनाअघि वेम्बली रङ्गशालामा जर्मनीलाई हराएर युरोपेली च्याम्पियनसिप जितेको थियो।
इङ्ल्यान्डको फाइनल यात्रा
इङ्ल्यान्डको युरो २०२२ यात्रा लगभग एउटा लयमा थियो तर यो विश्वकपमा उनीहरूको टोलीले कैयौँ उतारचढाव व्योहोर्नुपर्यो। प्रतियोगिताका अगाडि नै उनीहरूले आफ्ना तीन जना स्टारहरू -लीहा विलियमसन, बेथ मेइड र फार्न किर्बीलाई घुँडाको चोटका कारण गुमाउनुपरेको थियो।
यो प्रतियोगितामा टोलीका महत्त्वपूर्ण सदस्य किएरा वाल्सको चोट अनि लरेन जेम्सलाई दुई खेलको प्रतिबन्ध लागेपछि इङ्ल्याण्डकाे टोलीमा केही दबाब परेको थियो। नाइजिरियाविरूद्ध पेनाल्टी सुटआउटमा जित हासिल गरेर अघि बढेको इङ्ल्यान्डले कोलम्बियासँगको खेलमा सात मिनेट पछाडि परेको थियो तर गोल फर्काउँदै जित हासिल गरेर सेमिफाइनलसम्म पुगेको थियो। सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध शानदार ३-१ को गोलसाथ इङ्ल्यान्डले जित हासिल गर्यो।

अभ्यासपछि तस्बिर खिचाउँदै स्पेनको टोली
अस्थिरता, कलह र समूह चरणमा जापानबाट ४-० को हारका बाबजुद स्पेनको महिला टोलीले उत्कृष्ट पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो। हाल वरियता क्रममा इङ्ल्यान्डभन्दा दुई स्थान मुनी छैटौँमा स्पेन छ। टोलीका प्रशिक्षक र खेलाडीहरूबीचको कलहबारेका विवरण यो प्रतियोगिता चलिरहेको समयमा पनि आइरहेको छ।
तेस्रोपटक विश्वकप फुटबल खेलिरहेको स्पेनले स्विटजरल्यान्ड,नेदरल्याण्ड र स्वीडेनलाई हराएको थियो। उक्त टोलीका अधिकांश खेलाडी च्याम्पिअन्स लिग विजेता क्लब बार्सिलोनाबाट खेल्छन्। अलेक्सिया पुटेअस सन् २०२१ र सन् २०२२ को उत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी थिइन्।
![Mikayla Martin, 19 From western Sydney Half Spanish Ashleigh Sinclair, 19 Western Sydney Loves the Lionesses [Alex Thomas]-1692517597](https://www.aljazeera.com/wp-content/uploads/2023/08/Mikayla-Martin-19-From-western-Sydney-Half-Spanish-Ashleigh-Sinclair-19-Western-Sydney-Loves-the-Lionesses-Alex-Thomas-1692517597.jpeg?w=770&resize=770%2C578&quality=80)
फ्यानकाे सहभागिता
तर वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेर नेदरल्याण्डविरुद्धको क्वार्टरफाइनल अनि स्वीडनविरुद्धको सेमिफाइनलमा गोल गरेकी १९ वर्षकी साल्मा पाराल्युलो चर्चामा छिन्। इङ्ल्यान्डकी प्रशिक्षक विगमेनले टोलीलाई एकताबद्ध बनाएकोमा प्रशंसा पाइरहेकी छिन्। तर स्पेनका प्रशिक्षक गएको वर्षको सेप्टेम्बरमा खेलाडीहरूले विद्रोह गरेयता विवादमा घेरिएका छन्।
अभ्यासको विधि र खेलको अपर्याप्त तयारीजस्ता विषयलाई लिएर गत वर्ष १५ जना खेलाडीसँग उनको गम्भीर मतभेद भएको थियो। त्यसमध्ये जम्मा तीनजना खेलाडीलाई मात्रै उनले टोलीमा यस पटक सामेल गरेका थिए जसको अर्थ च्याम्पिअन्स लिग विजेता टोलीका तीन सहित कैयौँ विश्व चर्चित महिला खेलाडीहरू घरमै बस्न बाध्य भए। इङ्ल्यान्ड र स्पेन महिला विश्वकपमा आमान्ने सामुन्ने भएका थिएनन्।
तर इङ्ल्यान्डको महिला टोलीले स्पेनसँग खेलेका कूल १३ मध्ये ७ मा जीत र चारमा बराबरीको नतिजा निकालेको छ।
शाही परिवारको उपस्थिति
स्पेनको महिला टोलीप्रति समर्थन व्यक्त गर्न स्पेनकी महारानी लेटिफिया फाइनल खेलमा सहभागी हुने तयारीमा छिन। एउटा भिडियो सन्देशमा इङ्ल्यान्डको फुटबल सङ्घका अध्यक्ष राजकुमार विलियमले देशको महिला टोलीलाई शुभकामना दिएका छन् र आफूले सहभागिता जनाउन नपाएको भन्दै दु:ख व्यक्त गरेका छन्।
सिड्नीस्थित रङ्गशाला र लन्डनस्थित फ्यान जोनका सम्पूर्ण टिकट विक्री भएका छन्।