
नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कपिलाकोट, कल्पबृक्ष र महादेवस्थान ३ गाविस समेटी गठन गरेको क्षेत्र नै मरिण गाउँपालिका हो ।
यस गाउँपालिकाको नामाकरण सिन्धुली जिल्लाकै प्रशिद्द खोला मरिण खोलालाइ आधार मानी गरिएको छ । पूर्वमा कमलामाइ नगारपालीकाको सिमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालीका, उत्तरमा काभ्रे जिल्ला र घ्याङ्लेख गाउँपालिका र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल ३२४.५५ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा समथर फाँट, चुरे क्षेत्र, खोला खोल्सी, अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग रहेको छ ।
गाउँपालिकाको मध्य भागमा मरिण नदी, उत्तरमा महाभारत शृङ्खला र दक्षिणमा चुरेशृखलाहरु रहेको छ । मानविय रुपमा तामाङ बाहुल्यता रहेको यस गाउँपालिकामा मगर, माझी , विश्वकर्मा, दमाई, सार्की, बाहुन, क्षेत्री, नेवार लगायतका जातीहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसङ्ख्या २८,८०८ छ । मानविय चेतना तथा भौतिक, आर्थिक र पुर्वाधार विकासको दृष्टिकोणबाट यस मरिण गाउँपालिका पिछडिएको देखिन्छ ।
पर्यटकीय हिसाबले पन्चकन्या पोखरी, ठाकुर दरवार, धुरी ढुङ्गा र टुडिखेल एतिहासिक महत्व बोकेको स्थानको रुपमा हेरीएको छ यि ठाउँहरु पनि यसै गाउँपालिकामा पर्दछन । दक्षिणतर्फ चुरे श्रृखला र उत्तरतर्फ महाभारत पर्वतको बीचमा अवस्थित मरिण खोँच क्षेत्र जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । मरिण खोला लगायतका विविध साना ठुला खोला, खहरेबाट सिन्चित भइ आएको यो क्षेत्र परापूर्व कालदेखि नै अन्न र पशुजन्य उत्पादनको भण्डारको रुपमा यस जिल्लामा परिचित छ ।
केन्द्रः साविक कपिलाकोट गा.वि.
जनसङ्ख्याः २७८२२
क्षेत्रफलः ३२४.५५ (वर्ग कि.मि.)
वडा संख्याः ८