सिन्धुली । गोलञ्जोर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका व्यक्ति प्रहरीको सुरक्षा घेरामा कार्यालय जाने र आउने अवस्था सिर्जना भएको छ । गएकाे असारदेखि सुरक्षा चुनाैतिका कारण उनी प्रहरीकाे घेरामा कार्यालयमा काम गर्न आउन बाध्य भएका हुन् । अब भने उनकाे सरुवा भएकाे छ ।
पालिकामा निर्वाचित जनप्रतिनिधिहरु अराजक हुँदा गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेल कार्यालय जाँदा प्रत्येक दिन १४ जनाभन्दा बढी प्रहरीको घेरामा जान बाध्य भएका हुन् । उनको सुरक्षाका लागि सीडीओ कार्यालयले प्रहरीहरु घटाएर पठाएको हो । गएको असारमा गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै उनीमाथि जनप्रतिनिधिहरुले नै दुव्र्यवहार गरेका थिए । उनीमाथि गोलञ्जोर गाउँपालिका गाउँसभाका केही सदस्यहरुले दुर्व्यवहार गरेपछि उनले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
गोलञ्जोर गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष दौलत कार्कीले अध्यक्षको निर्देशनमा काम गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण समेत गरेको अधिकृत पौडेललले पालिका सञ्जाललाई बताए । कार्कीलगायत उनको टोलीले गएको वैशाखमा प्रमुख प्रशासकीय अधिकृत पौडेल काजमा गोलञ्जोर खटिएर जाँदा नै फोन गरेर आफूले भनेको मान्ने भए मात्रै आउन नत्र कार्यालय नै नआउन धम्की दिएको पौडेल बताउँछन् । कार्कीलगायतको टोलीले त्यसो भने पनि खटाइएको ठाउँमा पौडेल काम गर्न हाजिर भएका थिए ।
तर कार्कीलगायत कांग्रेसबाट निर्वाचित सदस्यहरुले बजेट, नीति तथा कार्यक्रम पारित गर्न निरन्तर असहयोग गरेपछि कानूनी प्रावधानअनुसार नीति तथा योजना कार्यान्वयनका लागि बजेट पारित भएसँगै पौडेल विरुद्ध कांग्रेसमा आवद्ध कार्यपालिका सदस्यहरुले उनलाई काम गर्न नदिने प्रयत्न गरिरहेको पौडेलले गुनासो गरे । पौडेलले वडा अध्यक्ष दौलत कार्कीविरुद्ध मुद्दा दायर गरेपछि कार्कीले प्रहरीसामु आत्मसमर्पण गरेका थिए । त्यो मुद्दा अहिले अदालतमा गएको छ । कार्की २५ हजार धरौटी बुझाएर बाहिरैबाट मुद्दा लडिरहेका छन् ।
कार्यपालिकामा कांग्रेसबाट निर्वाचित सदस्यहरुको बहुमत भएका कारण जनप्रतिनिधिहरु मिलेर काम गर्न नसक्दा गोलञ्जोरमा कर्मचारीहरुमाथि दुर्व्यवहार भइरहेको देखिन्छ । नागरिकका दैनिक आवश्यकता पूरा गर्नुपर्ने काम जनप्रतिनिधिहरुबाटै सम्पन्न हुन नदिएको देखिन्छ । गोलञ्जोरमा एमालेबाट निर्वाचित पालिका अध्यक्ष रहेका छन् भने माओवादीबाट निर्वाचित उपाध्यक्ष छन् । पालिका अध्यक्ष र उपाध्यक्ष मिलेर काम गरे पनि कांग्रेसबाट निर्वाचित सदस्यहरुले भने पालिकाको काम कारबाहीमा निरन्तर अस्थिरता पैदा गरिरहेका छन् ।
गएको महिनाहरुमा पनि गोलञ्जोर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार भएर प्रमुख प्रशासकीय अधिकृत नै पालिकामा काम गर्न नआउने स्थिति सिर्जना भएको थियो । पाैडेलकाे भने अहिले सरुवा भएकाे छ । उनी हरिनगर गाउँपालिकामा काजमा खटाइएकाे पत्र संघीय मामिला तथा सामान्य प्शासन मन्त्रालयले जारी गरेकाे छ । आफूले गाेलञ्जाेरमा धेरै दुर्व्यवहार भाेगेकाे पाैडेलले बताएका छन् ।
पालिकामा विवाद हुँदा कार्यपालिकाको बैठक पनि सौहार्दपूर्ण अवस्थामा बस्न सकेको छैन । गाउँसभाले पनि सहज तरिकाले काम गर्न पाएको छैन । एमाले र माओवादीबाट निर्वाचित कांग्रेसका सदस्यहरुलाई निरन्तर पेलेरै काम गर्न तयार देखिन्छन् भने कार्यपालिकामा बहुमत भएको कांग्रेसका कार्यपालिका सदस्यहरु अध्यक्ष तथा उपाध्यक्षलाई असफल बनाउन लागिरहेको देखिन्छ । पालिकामा नागरिकका आवश्यकताबारे ध्यान दिएर विकास निर्माणमा ध्यान नदिँदा जनप्रतिनिधि नै पालिकाको विकासका बाधक बनेका छन् ।