एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याएको रोभरले चन्द्रमा सतहमा पहिलो यात्रा सुरु गरेको छ।
इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर अवतरण गराएको एक दिनपछि ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो। चन्द्रयान-३ ले लगेको ‘विक्रम’ नामक ल्यान्डरबाट रोभर बिहीवार बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको हो। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)ले “भारत चन्द्रमामा हिँडेको” बताएको छ।
विक्रम ल्यान्डर योजनाअनुरूप नै बुधवार साँझ चन्द्र सतहमा सकुशल अवतरण भएको थियो। यससँगै अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीनपछि भारत चन्द्रमामा सकुशल अवतरण गर्ने देश बनेको छ। प्रज्ञान नामक रोभरको तौल २६ किलोग्राम छ। संस्कृत शब्द प्रज्ञानको अर्थ विवेक वा बुद्धि भन्ने हुन्छ। उक्त रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो।
प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजहरूका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्ने छ। प्रज्ञानको सूचना आदानप्रदान ल्यान्डरसँग मात्रै हुन्छ। ल्यान्डरले चन्द्रयान-२ ले यसअघिनै छोडेको अर्बिटरमा सूचना पठाउँछ। अझै पनि चन्द्रमालाई परिक्रमा गरिरहेको चन्द्रयान-२ ले उक्त सूचना विश्लेषणका लागि पृथ्वीमा पठाउँछ।
भारतको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार उक्त रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ। आफ्नो प्रत्येक चालमा रोभरले आफ्ना छवटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतीक चिह्न माटोमा बनाउने छ। चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भकै दिन भारतले प्रक्षेपण गरेको रोभरयुक्त ल्यान्डर चन्द्रमामा अवतरण गरेको थियो।
ब्याट्री सकिएपछि के होला
चन्द्रमामा एक दिन बराबर पृथ्वीमा २८ दिन हुन्छ। त्यसको अर्थ ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुनका लागि १४ दिन निरन्तर सूर्यको प्रकाश पुग्छ। तर रात पर्दा ब्याट्रीमा चार्ज नहुने भएकाले तिनले काम गर्न छोड्छन्। चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन।
उक्त ल्यान्डरले अन्य कैयौँ वैज्ञानिक उपकरणहरू पनि लिएर गएको छ। ती उपकरणले चन्द्रमाको सतहमा, त्यसभन्दा मुनीको भागमा र सतहमाथि के हुन्छ भन्ने पत्ता लगाउन सहयोग गर्ने विश्वास गरिएकाे छ। चन्द्रमामा महत्त्वपूर्ण खनिजहरू भएको विश्वास गरिन्छ। तर चन्द्रयान-३ को प्रमुख उद्देश्य पानीको खोजी गर्नु हो। वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला खाडलहरूमा सधैँ छाया पर्ने भएका कारण त्यहाँ बरफ जमेको हुनसक्ने र त्यसले भविष्यमा त्यहाँ जाने मानिसलाई सहयोग पुग्ने बताउने गरेका छन्।