
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागि पालिका आफैँले बाेलेराे सेवा सञ्चालनमा ल्याएकाे छ । यसका लागि गाउँपालिकाले बाेलेराे खरिद गरेकाे हाे। पालिकाले बाेलेराेसँगै स्वास्थ्य एम्बुलेन्स र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेकाे छ ।
सार्वजनिक यातायातले पालिकाको सबै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने पालिका अध्यक्ष ढुंगराज विकले जानकारी दिए । सडक सञ्जालमा नजाेडिएका पालिकाका वडाहरुमा यातयातका कुनै पनि साधन नचल्ने भएका कारण पालिकाले नै बाेलेराे खरिद गरेर सेवा दिन थालेकाे हाे। पालिकाले बाेलेरेकाे भाडादर भने ताेकेकाे छ । पालिकाले बेलेराेमा फ्री सेवा भने नदिने अध्यक्ष विश्वकर्माले जानकारी दिए । सार्वजनिक यातायात कार्यविधि निर्माण गरी पालिकाले बाेलेराे सञ्चालनमा ल्याएकाे हाे । “पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौँ ”, अध्यक्ष विश्वकर्माले भने ।
गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ। अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्याइदिने गरेकोे बताए । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ थियो ।