एजेन्सी । लिबियाका प्रधानमन्त्रीले इजरायली विदेशमन्त्रीसँग लिबियाका विदेशमन्त्रीले अनौपचारिक भेट गरेपछि आफ्ना विदेशमन्त्रीलाई निलम्बन गरेका छन् ।
लिबियाले प्यालेस्टाइनलाई समर्थन गर्छ र इजरायललाई मान्यता दिँदैन। यस्तो अवस्थामा लिबिया इजरायलका विदेशमन्त्रीकाे भेट भएकाे खबर सार्वजनिक भएपछि अरबहरूको बाहुल्य रहेको लिबियामा विरोध प्रदर्शन सुरु भएको छ । इजरायलका विदेशमन्त्री ली कोहेनले लिबियाका विदेशमन्त्री नजला अल–मेन्गुससँगको भेटलाई दुई देशबीचको सम्बन्ध स्थापनाका लागि ऐतिहासिक कदम भएको बताएका छन् तर यही भेटका कारण लिबियाकाे राजधानी त्रिपाेलीमा प्रदर्शनहरु चर्कीएकाे छ ।
इजरायलले केही समयदेखि आफूलाई राष्ट्रको रूपमा मान्यता नदिने अरब र मुस्लिम बाहुल्य देशहरूसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ। तर, लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने प्रेसिडेन्सियल काउन्सिलले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनु गैरकानुनी भएको बताएको छ । लिबियाको संसदको सभामुखको कार्यालयले विदेशमन्त्री नजला अल–मेन्गुसलाई देशद्रोहको आरोप लगाएको छ। राेममा भएकाे एक कार्यक्रममा दुई देशका विदेशमन्त्रीहरु आमुन्ने सामुन्ने भएपछि सामान्य भेटघाट भएकाे बताइएकाे छ तर त्यसलाई लिबियाले ठूलाे विषय बनाएकाे छ ।
यससँगै प्रधानमन्त्री अब्दुल हमिद देबिबाहले विदेशमन्त्री नजला अल–मेन्गुसविरुद्ध अनुसन्धान सुरु गर्नेतर्फ कदम चालेका छन् । इजरायली पक्षले लिबियासँग छलफः गर्नु र बैठककाे घोषणा गर्नु अचम्मको भएकाे मानिएकाे छ किनभने इजरायल र लिबियाबीच राम्रो सम्बन्ध रहेको छैन।
लिबिया इजरायलको कट्टर विरोधी र प्यालेस्टिनी संघर्षको समर्थक छ । मुअम्मर गद्दाफी लिबियाको नेता भएका कारण पनि लिबिया इजरायल विराेधी भइरहेकाे छ। गद्दाफीको नेतृत्वमा लिबियाबाट हजारौं यहूदीहरूलाई निष्कासित गरियो र धेरै सभाघरहरू ध्वस्त बनाइएकाे थियाे।
सोमबार, एक अज्ञात इजरायली अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई राेममामा दुई देश लिबिया र इजरायलका विदेश मन्त्रीबीच एक घण्टाभन्दा बढी छलफल चलेको अधिकारीले बताएका छन् ।
आइतवार इजरायली पक्षबाट जारी गरिएको एक विज्ञप्तिमा कोहनले मेन्गुसले आफूलाई रोममा भेटेकाे र आफूहरूले “दुई देशबीचको सम्बन्धको विशाल सम्भावनाबारे छलफल गरेका” उल्लेख गरेका थिए।
कोहेनले लिबियामा कृषि, पानी व्यवस्थापन र यहूदी सम्पदाको संरक्षण जस्ता विषयमा छलफल भएको बताए। वार्तामा लिबियामा यहुदी चिहान र पूजास्थलहरूको अवस्था सुधार गर्ने मुद्दा पनि उठाइएकाे जनाइएकाे छ। तर लिबियाको विदेश मन्त्रालयले इजरायलका प्रतिनिधिसँग आफ्नो विदेशमन्त्रीको भेटको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको छ । लिवियाका विदेशमन्त्रीकाे तर्क छ कि इटालीकाे राेममा ‘एक अनौपचारिक र अचानक भेटघाट’ मात्र भएकाे बताइएकाे छ। बैठकमा कुनै पनि किसिमको छलफल, सहमति वा परामर्श नभएको र इजरायलसँगको सम्बन्ध पुनर्स्थापनालाई पूर्ण रूपमा अस्वीकार गर्ने आफ्नो प्रतिबद्धतालाई परराष्ट्र मन्त्रालयले दोहोर्याएको पनि विज्ञप्तिमा उल्लेख छ ।
बैठकको खबर आएपछि सुरु भएको विरोध प्रदर्शन राजधानी त्रिपोलीबाहेक अन्य धेरै सहरमा फैलिएको छ । धेरै ठाउँमा सडकमा टायर जलाइएको छ र प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डा फहराएको देखिइएकाे छ।
लिबिया वर्षौंदेखि अशान्तिमा छ। देशको पूर्वी र पश्चिमी क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई छुट्टाछुट्टै अन्तरिम सरकार छन् । यही राजनीतिक विभाजनका कारण इजरायलसँगको कुनै पनि सम्झौता निकै जटिल बन्दै गएको छ । यो १२ वर्ष पहिले जनरल गद्दाफीको शासनकालको भन्दा धेरै जटिल हुन गइरहेको छ। लिबियाको नेशनल आर्मीका जनरल खलिफा हफ्तारले लिबियाको पूर्वी भागको टोब्रुक शहरबाट सरकार चलाउँदै आएका छन्। सम्पूर्ण पूर्वी लिबियाले यस सरकारको आदेश पालन गर्दछ।
हालैका वर्षहरूमा, इजरायलले अरब लीगका देशहरूसँग औपचारिक सम्बन्ध स्थापना गर्न थालेको छ। तर ती देशहरुसँग इजरायलको दुश्मनी दशकौं पुरानो पनि छ। सन् २०२० देखि इजरायलले संयुक्त अरब इमिरेट्स, बहराइन, सुडान र मोरक्कोसँग अमेरिकाको पहलमा सम्झौता गरेको छ। यी सम्झौताहरूलाई अब्राहम एकर्ड्स नाम दिइएको छ।
प्यालेस्टिनीहरूले यी सम्झौतामा हस्ताक्षर गर्ने अरब राष्ट्रहरूलाई देशद्रोही भनेका छन्। आइतबार साँझ, लिबियाको राष्ट्रपति परिषदले इजरायलसँगको सम्बन्धमा सरकारसँग स्पष्टीकरण मागेकाे छ। लिबियाको सेना यस परिषदको नियन्त्रणमा छ। काउन्सिलले सरकारलाई लेखेको पत्रमा भनिएकाे छ, ‘दुई देशका विदेशमन्त्रीको बैठकले कुनै पनि हिसाबले लिबियाको विदेश नीतिलाई प्रतिबिम्बित गर्दैन । यस्तो कुनै पनि कदम लिबियाको कानूनको उल्लङ्घन हो, जस अनुसार इजरायलसँग सम्बन्ध पुनर्स्थापित गर्नु अपराध हो।’