
सिन्धुली – गढी प्रहरी चौकीले गए राति चेकजाचको क्रममा २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिराटनगरबाट काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१-०२५ च १०६९ नम्बरको स्कोडा कम्पनीको निजी कारबाट चेकजाँच गर्ने क्रममा लुकाएर राखेकाे चाँदी भेटिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेकाे जनाएकाे छ ।
कारको पछाडि सिटको मुनि चाँदी लुकाइ राखिएको अवस्थामा फेला पारेपछि सवारी चालक मोरङ जिल्ला बिराटनगर महानगरपालिका वडा नम्बर -५ बस्ने बर्ष २५ का रोहितकुमार यादब र सप्तरी जिल्ला राजविराज नगरपालिका– ८ स्थायी ठेगाना भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका– ४ बस्ने ३७ वर्षीय सेचन मानन्धरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ गरिएको चाँदी, सवारी र व्यक्तिलाई गढी प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा बुझाएकाे र आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएकाे हाे ।
बरामद गरिएको चाँदीकाे तौल २० केजी रहेको र उक्त चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिए । उनले बिपी राजमार्ग हुँदै अवैध सुनचाँदी ओसारपसार हुने गरेको आशंकामा प्रहरीले केही दिनदेखि निजी सवारीसाधन पनि चेकजाँच गर्न थालेकाले बताएका छन् । घटनाकाे थप अनुसन्धान गर्न प्रहरीले बरामद सामाग्री आन्तरिक राजस्व कार्यालय पठाउने तयारी गरेकाे छ।