बागमतीका स्वास्थ्य मन्त्रीका यस्ता छन् सय दिनका उपलब्धि

Share:

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जोशीले १०० दिनको अवधिमा आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री जोशीले १०० दिनको उपलब्धिहरु सार्वजनिक गरेका थिए । निःशुल्क स्वास्थ्य उपचार, अस्पतालको सुधार, बीमा कार्यक्रममा आफूले सुधार गरेको जोशीले सार्वजनिक गरेको उपलब्धिहरुमा उल्लेख गरिएको छ । उनले प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क गरेको विषयलाई सबैभन्दा धेरै उपलब्धि भएको बताएका छन् ।

यस्तो छ मन्त्री जोशीका १०० दिने उपलब्धि

भदौ १ देखि मन्त्रालय अन्तर्गतका १३ वटा प्रादेशिक अस्पतालको आइसियु र क्याबिन बाहेकका ८११ शय्या निःशुल्क सेवा उपलब्धता प्रमुख उपलब्धि

प्रदेशका सबै अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनु दोस्रो उपलब्धि
प्रदेशमा सञ्चालित सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सवारी निःशुल्क पार्किङ व्यवस्था तेस्रो उपलब्धि
प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क रिह्याविटेशन र फिजियोथेरापी सेवा दिनु चौथो उपलब्धि

प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत जाति तथा आश्रममा आश्रित असहाय ६३७ परिवारको २५ लाख ८६ हजार रुपैयाँ लागतमा निःशुल्क स्वास्थ्य बीमा गर्नु पाँचौं उपलब्धि

मन्त्रालय तथा सरोकारवाला निकायहरुको सहभागितामा ‘सबै नीतिमा स्वास्थ्य निर्देशिका’ को मस्यौदा तयार, भदौ ५ गते ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८०’ मन्त्रीपरिषद्बाट स्वीकृति भएको विषय मन्त्रीले आफ्नो १०० दिनको उपलब्धिका रुपमा लिएका छन् ।

मन्त्री जोशीका थप कार्ययोजना

चालु आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र, एक अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि ११ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको मन्त्रीले उल्लेख गरेका छन् । त्यस्तै, स्थानीय तहका स्वास्थ्य संस्था सबलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रीले उल्लेख गरेका छन् ।

विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा सहज स्वास्थ्य सेवा प्रदान गर्न हब तथा स्याटेलाइट अस्पतालहरुको सञ्जाल निर्माण गर्ने, प्रदेशमा आवश्यक आयुर्वेद औषधीमा आत्मनिर्भर हुनको लागि आयुर्वेद औषधी उत्पादन केन्द्रको क्षमता अभिवृद्धि गरी मापदण्ड अनुसारको औषधी उत्पादन गर्ने योजना मन्त्रीको छ ।

त्यस्तै, मानव अंग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा मिर्गौला प्रत्यारोपण सेवा हेटौडा अस्पतालमा सुरुवात गर्ने, सीमान्तकृत एवं लोपोन्मुख जाति मातृ तथा बाल स्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई ५ हजार उत्प्रेरणा खर्च प्रदान गर्ने, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गर्ने योजना मन्त्रीको रहेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनको लागि विभिन्न शैक्षिक कार्यक्रम अनुसन्धान प्रोत्साहन कार्यक्रम, एक वर्षे एनएस थेसिया टेक्निसियन कार्यक्रम सञ्चालन, प्रादेशिक अस्पतालको उपचार व्यवस्थापन निर्देशिका कार्यान्वयनमा ल्याउने, प्रदेश जनसंख्या नीति तर्जुमा गर्ने, अस्पतालमा मिर्गौला डायलसिस सेवा स्थापना तथा सञ्चालन गर्ने लगायतका योजना कार्यान्वयन गर्ने मन्त्रीले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्