
काठमाण्डौ । अबदेखि इजरायलमा केयर गिभरको काममा जान चाहने श्रमिकलाई तालिम दिने संस्थाले वैदेशिक रोजगार विभागसँग अनुमति लिन पर्ने भएको छ ।
त्यसका लागि १५ दिनभित्र तोकिएको कागजातसहित निवेदन पेस गर्न विभागले सूचना जारी गरेको छ । इजरायलमा केयर गिभरको रूपमा जान चाहने श्रमिकले रोजगार आवेदन दिँदा नै अनिवार्य केयर गिभरको तालिम लिएको हुनुपर्छ ।
यसअघि भने विभागसँग अनुमति नलिएका संस्थाहरूमा राेजगारीमा जाने व्यक्तिले तालिम लिएको भए पनि मान्यता दिइन्थ्याे तर अब भने विभागमा दर्ता भएका संस्थाहरुमा तालिम लिएका व्यक्तिहरुले मात्रै इजरायल जान पाउनेछन् । विभागले केयर गिभर तालिम सम्बन्धी कार्यविधि २०७२ अनुसार इजरायल रोजगारीमा जाने श्रमिकलाई तालिम दिने संस्थाले अनिवार्य रूपमा विभागसँग अनुमति लिनु पर्ने नियम बनाएको छ।
तालिम दिनका लागि विभागले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ । आवेदन दिँदा आफूसँग भएको भौतिक सामग्री र अन्य मापदण्डको समेत अलग्गै व्यवस्था गरी विभागमा बुझाउन पर्ने प्रावधान भएकाे छ । इजरायलले नेपाल सरकारसँग सम्झौता गरी जीटुजी अर्थात् सरकारी प्रक्रियामार्फत नै दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली श्रमिकहरू लगिरहेको छ ।
विभागले यो नियम लागू गरेसँगै अब इजरायल रोजगारीमा जानको लागि केयर गिभरको तालिम लिन चाहने जो कोहीले तालिम लिनुअघि विभागसँग स्वीकृति लिएको संस्था हो कि होइन भनेर निश्चित गर्न जरुरी भएकाे छ ।