बजेट कार्यान्वयन नगर्न माग गर्दै गोलञ्जोर गाउँसभाका २४ जना सदस्य अदालतमाः अदालतद्वारा अग्राधिकार प्रदान

Share:

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँसभाका २४ जना सदस्य केही समय अगाडि पारित भएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन नगर्न माग गर्दै उच्च अदालत पाटनमा पुगेका छन् । उच्च अदालत पाटनले मुद्दालाई अग्राधिकार (प्राथमिकता) प्रदान गरेको छ ।

गाउँसभाका बहुमत सदस्यको विपरित गाउँपालिका अध्यक्षले नीति, कार्यक्रम तथा बजेट पारित गरेको भन्दै गाउँसभाका बहुमत भएको सदस्यहरु उच्च अदालत पाटन पुगेका हुन । गोलञ्जोरमा एमालेबाट गाउँपालिका अध्यक्षमा शंकर बराल निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादीका ज्वालाप्रसाद न्यौपाने र गाउँसभामा भने कांग्रेसको बहुमत रहेको छ ।

गोलञ्जोरमा नीति, कार्यक्रम तथा बजेट पारित गर्ने समयमा अध्यक्ष, उपाध्यक्ष एक कित्तामा उभिए पनि बहुमत भएका गाउँसभाका कांग्रेसबाट निर्वाचित सदस्यहरु भने नीति, कार्यक्रम तथा बजेटको विपक्षमा उभिएका थिए । निरन्तर तीनपटक बैठक बोलाउँदा पनि कांग्रेस निकट गाउँसभा सदस्यहरु उपस्थित नभए पछि गाउँसभामा निरन्तर अनुपस्थित भएको भन्दै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मिलेर बजेट पारित गरेका थिए । त्यही विषयलाई लिएर कांग्रेस निकट गाउँसभा सदस्यहरुले बिरोध जनाएका थिए ।

गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले नीति, कार्यक्रम तथा बजेट पारित गर्न गाउँपालिका अध्यक्षलाई सहयोग गरेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपात समेत गरेका थिए । गाउँपालिकाले बहुमत गाउँसभा सदस्यहरुको अनुपस्थितिमा बजेट, नीति र कार्यक्रम पारित गरेको भन्दै अदालतमा उक्त बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन नगराउन माग गर्दै मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले त्यही मुद्दालाई अग्राधिकार तोकिदिएको हो । अब यो मुद्दा पहिलो प्राथमिकतामा राखेर अदालतले चाँडो फैसला दिनेछ ।

कमेन्ट गर्नुहोस्