काठमाडौँ । वैदेशिक रोजगारको क्रममा विभिन्न म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर कुवेत पुगेका ४७ जना नेपालीहरुले आफूहरुलाई चाँडाे उद्वार गर्न माग गरेका छन् ।
कुवेतस्थित ‘ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा रोजगारीको लागि गएका युवाहरु एक महिनादेखि कामबिहीन र तलबबिहीन भएकाले उद्वार गर्न माग गरेका हुन् । पीडितहरु तिनकुनेस्थित बैभव ओभरसिज प्रालि र बसुन्धरास्थित गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत वैदेशिक रोजगारमा कुवेत पुगेका हुन् ।
पीडित युवाहरुका अनुसार उनीहरुले मासिक ८५ केडी तलब कमाई हुने रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुलाई एक लाख ६० हजारदेखि २ लाखसम्म बुझाएका थिए । कुवेतको राम्रो कम्पनी हो भन्दै म्यानपावरले पठाए पनि कुवेत पुगेपछि विभिन्न नाममा पैसा काटेर मासिक १५/२० हजार पनि कमाउन हम्मेहम्मे परेको पीडितहरुले बताएका छन् ।
यसरी समस्या भोग्नेको संख्या सयौं रहेकाे उनीहरुले बताएका छन् । पीडितहरुले काम पाएको अवस्थामा मासिक १२ देखि १८ हजारसम्म मात्र कमाएको बताएका छन् । म्यानपावरले पठाउँदा १२ घण्टा काम गरे १२० केडी र १६ घण्टा गरे १५० केडी कमाई हुन्छ भनि प्रलोभनमा पारेर वैदेशिक रोजगारमा पठाएकाे पीडितहरुले बताए । तर अधिकांशले भनेजस्तो काम पनि नपाएकाे र ओभरटाईम पनि नपाएकाे गुनासाे गरे । अहिले ओभरटाइम त परको कुरा कामविहीन बन्दा महिना दिनदेखि बिना तलब बस्नु परेको पीडितहरुको गुनासाे छ ।
समस्यामा परेका युवाहरुले कुवेतस्थित नेपाली दूतावासमा आफ्नो समस्या जानकारी गराउँदा दूतवासले कम्पनीको कन्ट्याक टुटेर समस्या भएको भए चाँडै नेपाल फर्किन सुझाव मात्र दिएको तर समस्यामा पार्ने कम्पनी र म्यानपावरसँग कुनै पहल नगरिदिएको बताए । पीडितहरुको आरोप छ, ‘दूतावास जिम्मेवार कुरा गर्दैन । दूतावास पनि कम्पनी र म्यानपावरको पक्षमा छन्, श्रमिकको पक्षमा छैनन् ।’