अश्लील गतिविधि गर्ने अधिकृतलाई कारबाही सिफारिस, महिलाको जिम्मेवारी खोसियो

Share:

इलाम । माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरिएको छ। लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गाउँपालिकाले गरेकाे हाे ।

गाउँ कार्यपालिका बैठकले घटनामा संलग्न लेखा अधिकृतलाई तत्कालका लागि जिम्मेवारीमुक्त गर्ने र सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको पालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए । ‘ती कर्मचारीको हर्कतले सिङ्गो गाउँपालिका परिवार दुःखी भएको छ,’ पालिकामै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थेबेले भने, ‘यो घटनाले गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी र गाउँवासीको मान–प्रतिष्ठामा आँच पुगेको, मानमर्दन भएको हामीले महसुस गरेका छौँ।’

मंगलबार बाहिरिएको भिडियो सीसीटिभीको हो वा होइन र कसरी बाहिरियो भन्नेबारे सत्य–तथ्य पत्ता लगाउन मन्त्रालयलाई नै छानबिनका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । पालिकाको पुरानो भवनमा साउन १८ मा भएको आगलागीको घटना छानबिन गर्न पालिका अध्यक्षकै अध्यक्षतामा साउन २१ मा समिति गठन भएपनि अहिलेसम्म कुनै तथ्य बाहिर आउन सकेको छैन। ‘आगलागीको घटना छानबिन गर्न समितिमा विज्ञ प्राविधिक समेत आवश्यक परेकाले उनकै परामर्शमा अध्ययन प्रतिवेदन तयार गरिनेछ,’ उनले भने।

अश्लील क्रियाकलापको भिडियो बाहिर आएपछि प्रमुख प्रशासकीय अधिकृत राईले पाएको ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ समेत खोसिएको थियो । एकाउन्टबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको जानकारी दिएका थिए । राईले इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा यो अवार्ड पाएका थिए ।

राई अहिले माइजोगमाई गाउँपालिकाबाट सरुवा भइसकेका छन् । प्रदेश मन्त्रालयमा सरुवा भएका राई त्यहाँबाट पनि झापाको बाहदशी गाउँपालिका सरुवा गएका छन् । तर, उनलाई माइजोगमाईको घटनाको सिसिटिभी फुटेज बाहिरिएपछि बाहदशीमा पनि हाजिर गर्न रोक लगाइएको छ। सरुवा भई भदौ १४ मै बाहदशी पुगेका राईलाई शुक्रबार बसेको कार्यपालिका बैठकले आइन्दा हाजिर गर्न नदिई फिर्ता पठाउने निर्णय गरेको पालिकाले जनाएको छ।

गत असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा अश्लील क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज मंगलबार बाहिरिएको थियो । भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ। सार्वजनिक भिडियोमा चुम्बन गरेका, हात समाएको, अँगालो हालेको र नगद लेनदेन समेत गरेको देखिन् ।

केही साताअघि गाउँपालिकाको कार्यालयमा आगलागीसमेत भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि  धेरै क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र यौन क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए।

कमेन्ट गर्नुहोस्