बिराटनगर । कोशी प्रदेश सरकारले बजेट अध्यादेश जारी गरेपछि १३ दिनदेखिको बजेट शून्यताको अवस्था अन्त्य भएको छ ।
कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज बजेटसम्बन्धी अध्यादेश जारी गरेपछि शून्यताकाे अवस्था अन्त्य भएकाे हाे । शुक्रबार नियुक्त भएका मुख्यमन्त्री कार्कीले सोही दिन बजेट अध्यादेश जारी गर्ने निर्णय गराएका थिए ।
सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । यो अध्यादेश यसअघि मुख्यमन्त्री कार्कीले ल्याएकै अध्यादेश हो । गत जेठ ३२ गते कार्कीले ल्याएकाे बजेट अध्यादेश असार १४ गते प्रदेशसभामा टेवल भएको थियो । ६० दिन भित्र पास गर्नुपर्ने अध्यादेश पासका लागि भदौ १० गतेसम्म सरकारलाई प्रतिस्थापन विधेयक ल्याउनु पर्ने बाध्यता थियो । तर सरकारले प्रतिस्थापन विधेयक नल्याएपछि बजेट निस्क्रीय भएको थियो ।
सर्वाेच्च अदालतको परमादेशपछि शुक्रबार मुख्यमन्त्री नियूक्त भएका कार्कीले पुरानै अध्यादेशलाई पुन: सक्रिय गरेका हुन् ।