बागलुङ। बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनकाे पकेट क्षेत्र बन्दै गएकाे छ । तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन भइरहेकाे छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुगेकाे छैन् । यसवर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको कृषकहरुले बताएका छन् । यसपटक आलु बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गर्ने भएकाे छ ।
गाउँपालिकाले आगामी असोज १ देखि ४ गतेसम्म वडा नं ४ को लाम्मेलामा आलु महोत्सव गर्ने भएकाे हाे। कृषकलाई बजारसँग जोड्न र उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्नेतर्फ थप आकर्षित गर्ने उनको भनाइ छ ।
अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा परेकाले महोत्सव आयाेजना गर्न लागेकाे अध्यक्ष बुढामगरले बताए । वर्षौंदेखि तमानखोलाका किसानले हजारौँ रोपनी जग्गामा आलु उत्पादन गर्दै आएका छन् । गाउँपालिकाले पनि
आलु उत्पादनमा अनुदान र प्राविधिक सहयोग गर्दै आएको बुढामगरको भनाइ छ ।
“हाम्रो पालिकाको तमान, लाम्मेला, नर्जाखानीलगायतका थुप्रै गाउँमा आलु उत्पादन हुन्छ, तर बजारमा भने भारतबाट आएका विषदीयुक्त आलु बिक्री हुन्छ, अब बाहिरबाट आउने आलुलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि तमानखोलामा पहिलो पटक आलु महोत्सव गर्दैछौँ”, अध्यक्ष बुढामगरले भने, “महोत्सवले यहाँको आलुको प्रचार हुनेछ, तमानखोलाको आलु एउटा ब्राण्ड बन्नेछ, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने र आयआर्जनको राम्रो माध्यम बनाउने उद्देश्य लिएका छौँ ।”
महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेटक्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।