रेल चढेर पुटिन भेट्न रुस हिँडे उत्तर कोरियाली नेता किम

Share:

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उन रुसतर्फ लागेको समाचार सार्वजनिक भएका छन् । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले आइतबार किम एक विशेष रेलमा रुसतर्फ लागेको जनाएको छ । सरकारी अधिकारीलाई उद्धृत गर्दै योन्हापले लेखेको छ, ‘जासुसी संस्थाहरूका अनुसार किम जोङ उन भ्लादिभोस्तोकतर्फ लागेको विश्वास गरिएको छ ।’ प्योङयाङले भने नेता किमको रुस भ्रमणका बारेमा अहिलेसम्म केही जानकारी सार्वजनिक गरेको छैन । मंगलबार नेता किमले रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने बताइएको छ ।

रुसी राष्ट्रपति पुटिनसँगको शिखर वार्ताका लागि बख्तरबन्द रेलमा भ्लादिभोस्तोक गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दाबी

यसअघि न्युयोर्क टाइम्सले समेत किम पुटिनसँगको शिखर वार्ताका लागि बख्तरबन्द रेलमा भ्लादिभोस्तोक जाने तयारीमा रहेको उल्लेख गरेको थियो । अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हतियार किन्न खोजिरहेको दाबी गरेका थिए । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने अमेरिकी अधिकारीले चेतावनीसमेत दिएका छन् ।

युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँगमिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । अमेरिका, दक्षिण कोरिया र जापानबीच सुरक्षा सहकार्य भइरहेका बेला उत्तर कोरियाले पनि मस्कोसँग सैन्य सहकार्यको प्रयास गर्दै आएको हो ।

कोभिड महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् भने झन्डै साढे ४ वर्षपछि रुस गएका हुन् । किमको पछिल्लो विदेश भ्रमण रुसको भ्लादिभोस्तोक नै रहेको थियो ।

कमेन्ट गर्नुहोस्