विराटनगर — मोरङको बुढीगंगा गाउँपालिकाले दोहोरो पटके कर असुल गरेको पाइएको छ । सुनसरी मोरङ औद्योगिक क्षेत्रको हात्तीमुढा करिडोरका उद्योगमा कच्चा पदार्थ लिएर आउने ढुवानीका साधनले स्थानीय सडक पूर्वाधार सेवा शुल्कका नाममा दोहोरो पटके कर तिर्नुपरेपछि उद्योगीले आपत्ति जनाएका छन् ।

उद्योगका नाममा कच्चा पदार्थ बोकेर आउने ढुवानीका साधनले आउँदा र फर्कदा दुवै पटक २ सय ८२ रुपैयाँ ५० पैसाका दरले पालिकालाई कर तिर्नुपर्ने बाध्यता छ । यो करिडोरमा साना ठूला गरी डेढ सय उद्योग सञ्चालनमा छन् ।

दोहोरो करका कारण ढुवानीका साधन नै आउन मान्न छाडेको फुजीमा आयल प्रालिका सञ्चालक सुवोध कोइरालाले बताए । ‘उद्योगमा कच्चा पदार्थ लिएर आउँदा र फर्कदा दुवै पटक कर तिर्नुपर्ने बाध्यताका कारण ढुवानीका साधन हात्तीमुढा औद्योगिक क्षेत्रमा आउने मान्न छाडेका छन्’ उनले भने ‘गाउँपालिकाले ढुवानीका साधनमा मात्र नभएर निजी चार चक्के सवारीका साधनमा पनि गत साउन देखि दोहोरो कर लिँदै आएको छ ।’

गाउँपालिकाले सुनसरी मोरङ सिँचाइ योजनाको नहरमाथि ढाँट तेर्साएर आउँदा र जाँदा पनि कर अशुल गर्दै आएको छ । ‘अहिले उद्योग नै बन्द गर्नुपर्ने स्थिति छ, त्यसमाथि ढुवानीका साधनसँग लिइँदै आएको यो दोहोरो पटके करले थप मार परेको छ’ कोइरालाले भने ।

पालिकाले अघिल्लो पटक पनि ढुवानीका साधन र निजी सवारीमा दोहोरो पटके कर लिँदा सर्वत्र विरोध भएपछि हटाएको थियो । यसपालि पनि हटाउन उद्योगीले आग्रह गरे पनि टेरेको छैन । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले चार चक्के सबै सवारी आउँदा र जाँदा दैनिक ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको बताए । ‘आफ्नै उद्योग र अफिस आउँदा, फर्कदा पैदल यात्रा गर्नुपर्ने अवस्था भएको छ’ उनले भने ‘कर नतिरे कच्चा पदार्थ बोकेका ढुवानीका साधन र निजी सवारीका साधनलाई अगाडि बढ्नै दिइँदैन ।’

स्थानीय सरकारलाई प्रत्येक उद्योगले व्यावसायिक, भूमि र सम्पती कर तिर्दै आएका छन् । त्यो करमा पनि पालिकाले गत वर्षको तुलनामा दोब्बरले वृद्धि गरेर उद्योगलाई अप्ठ्यारोमा पारेको छ । बुढीगंगा गाउँपालिकाले उद्योगका ढुवानीका साधन र उद्योगीले प्रयोग गर्ने निजी सावारीका साधनमा दोहोरो पटके कर लिएर दुख दिएको भन्दै स्वस्तिक जुट मिल्स, फुजिमा आयल, ग्रिन प्लाई नेपाल, रिजाल ग्यास, जेमिन रिसाइकलर्स, स्वस्ति पालिमार, एसियन ब्याट्री, अल्ट्राटेक सिमेन्ट, क्वालिटी नुडल्स, शिवम् फुटवेयर्स, अन्नपूर्ण सिमेन्ट कम्पनी सहित १७ वटा उद्योगले उजुरी दिएको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणि भट्टराईले बताए ।

पालिकाले सडक निर्माणकालागि शूल्क लिएको भन्दै हटाउन मानेको छैन । ‘सिँचाइ योजनाको नहरमा गुड्ने ढुवानीका साधन र निजी चार चक्के सवारीमा कर लिएर बुढीगंगा गाउँपालिकाले स्थानीय निकायको स्वायत्त अधिकारको चरम दोहन गरेको छ’ रिजालले भने । बुढीगंगा पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतकाे फाेन स्बीच अफ रहेकाे छ भने पालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छादारले पालिकाले दाेहाेराे कर लिने नीति नलिएकाे बताइन । उनले त्यस्ताे दाेहाेराे कर कसैकाे लिइएकाे भए पालिकामा सम्पर्क गर्न आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्