विराटको कीर्तिमानी शतकमा भारतको पाकिस्तानलाई बिशाल लक्ष्य

Share:

काठमाडाैं । विराट कोहलीको कीर्तिमानी शतकमा एसिया कप क्रिकेटको  सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई  ३५७ रनको लक्ष्य दिएको छ ।

कोलम्बोमा टस हारेर ब्याटिंगको निम्ता पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतीमा ३५७   रन बनायो । जसमा कोहलीले कीर्तिमानी शतक जोडे । उनी १२२ रनमा अविजित रहे ।

कोहलीले आफ्नो एकदिवसीय करियरमा ४६ शतक हिर्काउने क्रममा १३ हजार रन पूरा गरे  ।  कोहलीले आफ्नो २६७ औं इनिङ्समा १३ हजार रन पूरा गरेका हुन्  । योसँगै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

 हाल यो रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए । यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन्  ।

सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान बनेका छन् ।  सचिनको नाममा ४६३ खेलमा १८ हजार ४२६ रन छन् । यसका साथै केएल राहुलले पनि शतक बनाए । राहुल १११ रनमा अविजित रहे ।

राहुल र विराटबीच रनको २३३ रनको अविजित साझेदारी भयो । यो एसिया कपमा उच्च साझेदारी हो । भारतका रोहित शर्माले ५६ र शुभमन गिलले ५६ रन बनाए ।

पाकिस्तानबिरुद्ध भारतले बनाएको यो उच्च स्कोर पनि हो । पाकिस्तानका सहेन साह अफ्रिदी र सदाव खानले एक एक विकेट लिएका छन् ।

सुपर फोर अन्तर्गतका खेलमा भारतले  पहिलो खेल पाकिस्तानसँग खेल्न लागेको हो ।  पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।   यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो ।

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्