धनकौल गाउँपालिका अध्यक्षसँग तीनवटा नागरिकता !

Share:

सर्लाही । जिल्लाकाे धनकौल गाउँपालिका अध्यक्षसँग तीनवटा नागरिकता रहेको रहस्य बाहिरिएको छ।

किर्ते गरी विभिन्न मितिमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको भन्दै कारबाहीको लागि अदालतमा मुद्दा दायर भएपछि गाउँपालिका अध्यक्षले नै तीनवटा नागरिकता लिएको खुलासा भएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले विभिन्न मितिमा तीनवटा नागरिकता लिएको देखिएपछि उनीविरुद्ध अदालतमा मुद्दा दायर भएकाे छ।

गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा किर्ते गरेको नागरिकता प्रस्तुत गरेको भन्दै नागरिकता किर्तेमा कारबाही गर्न अदालतमा मुद्दा दायर भएको छ। उच्च अदालत जनकपुरमा मुद्दा दायर भएको र उच्च अदालतले साहलाई पक्राउ गर्न  बाटाे खाेलिदिएकाे छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय सागर विष्ट र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले साहलाई पक्राउ गरी अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय बरहथवालाई पत्राचार गरेको छ। साहसँग भएकाे पहिलो नागरिकता नम्बर २१७ मा जन्म मिति २००१ जेठ १० रहेको र दोस्रो नागरिकताकाे नम्बर १९–०१–७३–०८६३६ रहेको छ । याे नागरिकतामा जन्म मिति २०११ जेठ १० उल्लेख छ। यसैगरी साहसँग अर्को नागरिकता रहेको पनि दाबी स्थानीय नागरिकले दाबी गरेका छन् । यसकाे विवरण खुल्न सकेकाे छैन ।

गाउँपालिकाका अध्यक्ष साहले तीनवटा नागरिकता राखेको भन्दै अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय (ईप्रका) बरहथवामा निवेदन दिन खोज्दा प्रहरीले निवेदन लिन अस्वीकार गर्दै आएको थियो। ईप्रका बरहथवाले मुद्दा दर्ता गर्न नै अस्वीकार गरेपछि स्थानीयहरु उच्च अदालत जनकपुर पुगेका थिए।

उच्च अदालत जनकपुरले मुद्दा दर्ता गरी अनुसन्धान र कारबाही अगाडि बढाउन परमादेश जारी गरेपछि ईप्रका बरहथवाले मुद्दा दर्ता गरेको छ तर मुद्दाको अनुसन्धान गर्न प्रहरीले आनाकानी गरिरहेको स्थानीयले आरोप लगाएका छन्।

कमेन्ट गर्नुहोस्