नेम्वाङको गृहजिल्लामा शोक- रोङ र माङ्सेबुङ गाउँपालिकामा बिदा

Share:

काठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनप्रति जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन् । २०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक–पटक मन्त्री र संसदीय समितिको सभापतिसमेत बनेका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ ।

संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिकाले आज एक दिनका लागि शोकबिदासमेत दिएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले विज्ञप्ति जारी गरी शोक बिदा घोषणा गरेका हुन् । माङ्सेबुङ गाउँपालिकाले पनि आजका लागि पालिकाभर शोक बिदा दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिएका छन् ।

जिल्लाका राजीतिक अभिभावकसमेत रहेका नेम्बाङको निधनमा एमालेमात्र नभइ सबै दल र क्षेत्रका व्यक्तिले शोक व्यक्त गरेका छन् । नेम्बाङको निधनले जिल्लालाई पनि अपुरणीय क्षति पुगेको उनीहरूको प्रतिक्रिया छ ।

नेम्बाङकै निर्वाचन क्षेत्रमा पर्ने इलाम नगरपालिका मेयर तथा कांग्रेस नेता केदार थापाले नेम्बाङको निधनले देशै शोकाकुल भएको बताएका छन् । इलाम नगरले शोक विज्ञप्तिसमेत जारी गरी नेम्बाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना दिएको छ । नेम्बाङकै निर्वाचन क्षेत्रको चुलाचुली गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता राजेन्द्र केरुङले इलामले एक असल अभिभावक गुमाएको बताएका छन् । उनले विकासका काममा समेत नेम्बाङले महत्वपूर्ण योगदान गरेको जनाएका छन् ।

देउमाई नगरपालिकाले पनि नेम्बाङको निधनमा शोक व्यक्त गरेको छ । मेयर तथा एमाले नेता सूर्य पोख्रेलले नेम्बाङ जिल्लाबासी र देशबासीका अभिभावक, आस्था, त्याग र समर्पणका धरोहर भएको उल्लेख गरेका छन्  । इलामस्थित उच्च अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष उत्तम पौडेलले २०४२ सालमा इलाममा जिल्ला बार एसोसिएसन स्थापना हुँदा संस्थापकमध्येका नेम्बाङको निधनप्रति शोक व्यक्त गरेका छन् । अनेरास्ववियु केन्द्रीय सदस्य नितेश राईले नेम्बाङको निधनले इलामको मियो ढलेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्