मकवानपुर । हेटौंडा–१ स्थित सञ्चो हस्पिटल प्रालिका चिकित्सकहरूलाई एक समूहले निर्घात कुटपिट गरेको छ । केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन् ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै चिकित्सकमाथि कुटपिट भएको हो । सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि केही युवाहरुले हातपात गरेका हुन् ।
गत साउन २५ मा डेंगुबाट मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट डा. विडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा. थापाको गाला र अनुहार सुनिएको छ । एक महिनाअघि डेंगीका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ । प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो । त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो ।
सञ्चोमा उपचार हुन नसक्ने भन्दै प्रधानलाई चितवन रिफर गरिएको थियो । प्रधानलाई दोस्रोपटक डेंगु संक्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो । घटनापश्चात प्रहरीले दुवैपक्षलाई राखी छलफल गराएको थियो । तर, छलफलमा सहमति जुटन नसकेपछि दुवै पक्ष कानुनी प्रक्रिया जाने भएका छन् ।
नेपाल चिकित्सक संघले सञ्चो अस्पताल हेटौंडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी दुई चिकित्सकलाई गम्भीर घाइते बनाइएको घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । संघले यस घटनामा संलग्न दोषीलाई अविलम्ब ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९’ बमोजिम कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरुलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघको गम्भीर आपत्ति रहेको पनि विज्ञप्तिमा भनिएको छ । महासचिव डा. सन्जिव तिवारीले जारी गरेकाे विज्ञप्तिमा ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिएमा नेपाल चिकित्सक संघ चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ ।
यस्तै, नेपाल स्वास्थ्यकर्मी संघले यो घटनाको निन्दा गर्दै विज्ञप्ती जारी गरेको छ । संघका जिल्ला उपाध्यक्ष सुधीर दाहालले जारी गरेको विज्ञप्तीमा भनिएकाे छ, ‘चिकित्सक माथि उत्छृङ्खल जमातले गरेको सांघातिक आक्रमणको संघ घोर भत्सर्ना गर्दछ ।’ यस किसिमको गतिविधिले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुर्याउने भएकोले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै दोषीमामाथि हदैसम्मको कारबाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघ मकवानपुरले पनि घटनाको विषयमा घोर आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेको छ । संघका उपाध्यक्ष संघर्ष गुरुङले जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीको सुरक्षाको ग्यारेन्टी नभएको खण्डमा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि भएको सांघातिक आक्रमणले मकवानपुरको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।