काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।
नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री दाहाल, मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, विभिन्न दलका शिर्ष नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुकको ठूलो उपस्थिति रहेको थियो ।
यसअघि नेम्वाङको पार्थिव शरीर शवयात्रासहित बालुवाटार हुँदै शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको थियो ।