
काठमाडौं । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भएपछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो ।
बालबालिकाको हक, हित र बाल अधिकारको संरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संविधान र कानूनले प्रत्याभूत गरेका बालबालिकाको हकहितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका विषयहरु हुन् ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा आत्मसात गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ ।