महेश कुमार श्रेष्ठद्वारा एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा

Share:

काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले सबल, साझा र एकतावद्ध एनआरएनए बनाउने प्रमुख उद्देश्य र प्राथमिकतासहित ५ रणनीति र २५ योजनासमेत सार्वजनिक गरेका छन् ।

उनले २ वर्षको कार्यकालका लागि तयार गरिएको ठोस कार्ययोजनाहरुलाई समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौंमा हुने मिति तय गरिएको छ । श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, विदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गरेको बताए ।

कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन् । जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सीईओ, तोनान कम्पनी लिमिटेडको अध्यक्ष र सीईओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनी निर्देशक रहेका छन् ।

कमेन्ट गर्नुहोस्