तीनकुने हत्याकाण्ड:‘नवीनसँग रिसइबी’ भएका एक युवकले सबैकाे हत्या गरेकाे प्रहरीकाे प्रारम्भिक निष्कर्ष

Share:

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार मात्र ती युवकलाई पक्राउ गरेको थियो । उनले चार जनाकै हत्या आफूले गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए । तर उक्त ठाउँमा घटनाबारे अरुले थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको स्राेतले जनाएकाे छ ।

आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ । राति नै घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

तर, सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ । उनी प्रहरी कहाँ पुग्दा ११ः५५ बजेको थियो । यो घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीले घटनामा दीपेन्द्र सामेल नभएकाे हुनसक्ने भएपछि अनुसन्धानलाई फरक दायराबाट अगाडि बढाएकाे थियाे । त्यसअनुसार आइतबार
पेप्सीकाेलाबाट अर्का एक युवक पक्राउ परे र उनले आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य स:मिलभित्र काठले बनेको टहरामा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटनाबारे जानकारी गराउन पुगेका उनलाई साथमा लिएर प्रहरी घटनास्थलमा पुग्यो। अनुसन्धानका लागि शनिबार नै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआइजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई जिम्मा दिएका थिए। एसएसपी राठौरको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाइएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले विभिन्न ठाउँका सम्भावित सिसिटिभी फुटेजहरू पनि संकलन गरेको थियो। मिलबाहिर पनि एउटा सिसिटिभी फुटेज राखिएको छ। त्यस फुटेजबाट हुलिया पहिचान खुल्न सकेको थिएन। अँध्यारोका कारण पनि खुल्न नसकेपछि प्रहरीले अन्य ठाउँका सिसिटिभी फुटेज केलाएको थियाे। तीनकुनेदेखि पेप्सीकोलासम्मका फुटेजलाई केलाएर आइतबार प्रहरीले एक पुरूषलाई पक्राउ गरेको हाे। उनी राति ११:३४ मा निस्किएको तर कतिबेला कहाँबाट भित्र पसेको भन्ने नदेखिएको प्रहरी स्रोतले बतायो। उक्त काठ मिलमा दुई वटा ढोका छन्। निस्किँदा भने ती पुरूष मुख्य सडकपट्टीको ढोकाबाट बाहिरिएको प्रहरी अनुसन्धानले देखायाे।

हत्या भएकाे ठाउँमा काठ मिलको कम्पाउन्डभित्र भुँइतला र माथिल्लो तलामा बस्न मिल्ने गरी काठको टहरा छ। मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको शव माथिल्लो तलाको बरन्डामा विभत्स अवस्थामा भेटिएको हो। उनको टाउकोमा गम्भीर चोट थियो। शरीरका विभिन्न भागमा पनि चोट थियो।

त्यहाँ होहल्ला भएपछि भने भुइँ तलामा एकै परिवारका तीन जनाको हत्या भएको हुनु पर्ने प्रहरीको प्रारम्भिक बुझाइ छ। दीपेन्द्रको काका पर्नेका छोरा नवीन हुन्। दीपेन्द्रका बुवा केही महिनाअघिसम्म उक्त मिलमा काम गर्थे। दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको भुँइ तलामा हत्या भएको देखिएको हो।

हत्यापछि तीनै जनाको शवलाई घिसारेर काठको थुप्रो भएको ठाउँमा राखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीले बताए। सुरूमा घटना हुँदा प्रहरीले हतियार फेला पारेको थिएन। मध्यरातमा घटना भएकाले प्रहरीले बिहानमात्रै मुचुल्का उठाएको थियो। मुचुल्का गरे पनि हतियार फेला नपरेपछि प्रहरीले खोजी गरिरहेको थियो।

घटनास्थलमा खोजी गर्ने क्रममा त्यही मिलभित्र एउटा दाउ फेला परेको हो। जसलाई धोएको जस्तो पनि देखिएको र केही रगतका टाटासमेत देखिएको स्रोतले बतायो। तीनकुनेको उक्त सःमिल दोलखाको कालिञञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो। उनी दोलखाका एमाले नेता समेत हुन्।

हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

कमेन्ट गर्नुहोस्