६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता, २९ जनामात्रै प्रतिवादी

Share:

काठमाडौं । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि जिल्ला अदालत काठमाडाैंमा मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ । प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ । एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजाय समेत जोडिन्छ ।

पटक पटक अपराध गरेको आरोपमा थुप्तिन छिरिङको हकमा प्रहरीले थप सजाय माग गरेको छ । अभियोग पत्र अनुसार उनी यसअघि नै गैंडाको खाग चोरी तस्करीको आरोपमा दोषी ठहर भएका थिए ।

कमेन्ट गर्नुहोस्