भारतलाई एसिया कप क्रिकेटको उपाधि

Share:

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।

कोलम्बोमा आज भएको फाइनलमा घरेलु टोली श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो । बलिङमा मोहम्मद सिराजले श्रीलंकन ब्याटरलाई ध्वस्त पारेका थिए भने ब्याटिङमा भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । भारतले ३७ बल फेस गर्दा जित पक्का गर्न सफल भयो ।

भारतका लागि ईशान किसन र शुभमन गिलले ओपनिङ गरेका थिए । यी दुईले नटआउट पारि खेल्दै भारतलाई च्याम्पियन बनाए । शुभमन गिल २७ रनमा नटआउट रहँदा ईशान किसन २३ रनमा नटआउट रहे । गिलले ६ चौका प्रहार गर्दा किशनले ४ चौका प्रहार गरे ।श्रीलंकाले १५.२ ओभरमा सवै विकेट गुमाएर ५० रनमात्रै बनाउन सक्यो ।

फाइनल खेलमा घरेलु टोली तथा डिफेन्डिङ  च्याम्पियन श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर, श्रीलंकन कप्तान दसुन सनकाको निर्णय पूरै गलत सावित भयो । १३ ओभरमा ८ विकेट गुमाउँदा ४० रन बनाएको श्रीलंकाले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकालाई फाइनलमा पुरै दबाबमा राख्नका लागि मोहम्मद सिराज एक्लैले ६ विकेट लिए  । सिराजले ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर २१ रन खर्चिएर ६ विकेट लिए ।

यसैगरी जसप्रित बुमराहले ५ ओभरमा १ ओभर मेडन राख्दै २३ रन खर्चिएर १ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले २.२ ओभर बलिङ गर्दा ३ रन दिएर ३ विकेट लिए ।  श्रीलंकाका लागि पथुम निसनका र कुशल परेराले ओपनिङ गरेका थिए । कुशल परेरालाई बुमराहले आउट गर्दै भारतलार्य सुखद् सुरुआत गराए । चौथो ओभरमा श्रीलंकाले ४ विकेट गुमायो । मोहम्मद सिराजले चौथो ओभरको पहिलो बलमा पथुम निसनकालाई आउट गरेका थिए । उनी २ रन बनाएर आउट भए । दोस्रो बल सदेर समरविक्रमाले रन बनाउन सकेनन् । तेस्रो बलमा उनी एलबीडब्ल्यू आउट भएका थिए । चौथो बलमा चरिथा असलंकाले खाता नै नखोली पभेलियन फर्किए । पाँचौं बल ह्याट्रिक विकेटको खोजिमा रहेको सिराजले चार रन दिए ।

उनलाई धनञ्जय डी सिल्भाले चार रन प्रहार गरका थिए । तर अन्तिम बलमा सिल्भालाई आउट गर्दै सिरजाले एकै ओभरमा ४ विकेट लिएर सनसनी मच्चाए । छैटौं विकेट पनि श्रीलंकाले १२ रन हुँदा गुमाएको थियो । श्रीलंकाका कप्तान दसुन सनका खाता पनि खोल्न सकेनन् । उनलाई सिराजले नै पभेलियन फर्काए । एक छेउँमा टिकको कुशल मेन्डिस सातौं विकेटको रुपमा आउट भए । उनले ३४ बलमा १७ रन बनाएका बेला सिराजकै धरापमा परेका थिए । क्रिजमा दुनिथ वेललागे र दसुन हेमन्था क्रिकेटमा रहेका थिए । १२ ओभर सकिँदा श्रीलंकाले ७ विकेट गुमाएर ३९ रन बनाएको थियो ।

१३ औं ओभरको तेस्रो बलमा श्रीलंकाले आठौं विकेट गुमायो । भारतका हार्दिक पाण्ड्याले दुनिथ वेलवालेगेलाई आउट गरे । उनी ८ रन बनाएर आउट भएका हुन् । नवौं विकेटको रुपमा प्रमोद मदुसन आउट भए । उनी १ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याको बलमा विराट क्याच लिँदै पभेलियन पठाएका हुन् । लगत्तै अन्तिम विकेटको रुपमा मथिसा पथिरना खाता नै नखोली आउट भए । दसुन हेमन्था १३ रनमा नटआउट रहे । श्रीलंका १३.२ ओभरमा सवै विकेट गुमाएर ५० रनमा समेटिन पुग्यो । भारतका मोहम्मद सिराजले ६ विकेट लिँदा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । हरेक दुई दुई वर्षमा आयोजना हुने प्रतियोगितामा भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ । भारतले ११ औं फाइनल खेल्दा ३ पटकमात्रै उप विजेता भएको छ । यस्तै, श्रीलंकाले ६ पटक उपाधि जित्दा ७ पटक उप विजेता बनेको छ । यसैगरी पाकिस्तानले २ पटक उपाधि जित्दा ३ पटक उप विजेता भएको छ । बंगलादेश ३ पटक उप विजेता भएको छ भने अफगानिस्तान र यस पटक सहभागी भएको नेपालले समूह चरण पार गर्न सकेनन् ।

भारतले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । २०२२ को उपाधि भने श्रीलंकाले जितेको थियो । कोभिडका कारण यसअघि रोकिएका खेलहरुले २०२२ र २०२३ मा लगातार एसिया कप आयोजना भएको हो ।

कमेन्ट गर्नुहोस्