वर्षकाे पहिलाे महिनामै भित्रियाे १ खर्ब १६ अर्ब रेमिट्यान्स, सबैभन्दा बढी रेमिट्यान्स भित्रिएकाे दाबी

Share:

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्वि भएकाे छ । गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । याे साउनमा आएको रेमिट्यान्स अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो ।

साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा पनि नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि धेरै देखिएको हो ।

यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ । कोभिडपछि गएको दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा त्यसको प्रभाव रेमिट्यान्समा देखिएको हो ।

कमेन्ट गर्नुहोस्