रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच झडप, एक जनाको मृत्यु

Share:

रुपन्देही । गएराति रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ।

झडपमा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्ने समूहबीच विवाद हुँदा झडप भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच सोमबार राति झडप भएको थियो। एउटा होटलमा मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको प्रहरीले जनाएकाे छ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार झडपमा हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको छ।अर्को समूहको चक्कू प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्।

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।प्रहरी नायब उपरीक्षक थापाले झडपमा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्