काठमाडाैं – सुनसरीको दुहवी नगरपालिकाले पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
दुहवीका मेयर वेदनारायण गच्छदारले साेमबार विज्ञप्ति निकालेर कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कडा कारबाही गरिने चेतावनी उल्लेख गरेका छन् ।
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् । ‘कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सधैँझै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न/गराउन नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको र यो निर्देशनको अवज्ञा गरेमा कारबाही हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको तर आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ/छैन भन्ने विषय ख्याल गर्नुपर्ने मेयर गच्छदारले उल्लेख गरेका छन् ।