
काठमाडाैं । संसद्मा छलफलका लागि दर्ता भएकाे शिक्षा विद्येयकका केही प्रावधानलाई लिएर आन्दाेलनमा रहेका शिक्षक र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज बिहान सिंहदरबारमा भएकाे छलफल निष्कर्षबिहीन भएकाे छ ।
हिजो (बुधबार)देखि सडकमा आएका शिक्षकहरूसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको हो । संघीय सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध काठमाडाैं केन्द्रित आन्दोलनमा हाेमिएका शिक्षकहरूसँग सरकारले गरेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको हाे । विद्यालय नै बन्द गरेर काठमाडाैं केन्द्रित आन्दाेलन सुरु गरेका शिक्षकहरुले शिक्षा, कानुन र अर्थ मन्त्रालय साथै प्रधानमन्त्रीलाई पनि राखेर शिक्षा विद्येयकमा आफ्ना मागहरु समावेश नगरेसम्म आन्दाेलन नराेक्ने बताएका छन् ।
वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए । आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए । वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए । उनले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् । शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् । यता काठमाडाैंकाे माइतीघर तथा नयाँ बानेश्वरमा शिक्षकहरुले सडक बन्द गरेका कारण यातायात अस्तव्यस्त भएकाे छ ।
शिक्षकहरुले सडक बन्द गर्दा सर्वसाधारण मर्कामा परेका छन् भने बिरामी बाेकेकाे एम्बुलेन्सले समेत आवत जावत गर्न पाएकाे छैन् । आज पनि आन्दाेलनले उग्र रुप लिएकाे छ। प्रहरीले बनाएकाे निषेधित क्षेत्र शिक्षकहरुले ताेडेका छन् ।