
काभ्रे । आफ्ना कर्मचारी थाकेको भन्दै नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कर्मचारी धेरै काम गरेर थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा आज बिहीबार बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाकाको लेटरहेडमा बेनामे हस्ताक्षरमा पालिकाको वेभसाइटमार्फत सार्वजनिक गरिएको सूचनामा संविधान दिवसका दिन पालिकाको नयाँ प्रशासनिक भवन उद्घाटनका क्रममा खटिनुपर्दा कर्मचारी गलेको भन्दै सार्वजनिक बिदा हुने उल्लेख छ ।
नगरपालिकाले गत ३१ भदौदेखि नै नगरपालिकाका सबै सेवा बन्द गरेर पुरानो भवनबाट नयाँ भवनमा सामान सार्ने काम गरेको नगरका कर्मचारीहरु बताउँछन् । सामान सार्ने धपेडीका कारण कर्मचारी गलेर नगरपालिकाका कर्मचारीलाई एक दिन बिदा दिएपनि विद्यालयदेखि सवै सरकारी र गैरसरकारी कार्यालयमा किन बिदा दिनुपरेको भन्ने विषयमा भने नगरपालिका मौन छ ।