
काठमाडौं । दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ ।
दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।
चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको डिएसपी खड्काले जानकारी दिए । केशर बिगु–१ का स्थानीय हुन् । तर, उनी बिगु–३ जामुने स्थित सिता तामाङको घरमा डेरामा बस्दै आएका छन् ।
सुन ओसार पसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
यसअघि प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो ।