काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले साँगाबाट उनलाई आज पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताए ।
केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् ।
त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् । केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।