काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।
नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार दिने घोषणा गरेको हो। सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन्।
यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्। कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो । वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए, जसमामध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।
खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न मद्दत गरेकाे थियाे । परम्परागत खोप प्रविधिमा सङ्कक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ। तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ।
कोभिड महामारीका बेला मोडर्ना र फाइजर/बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो। त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो।
नोबेल पुरस्कार समितिले भनेको छ: “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।” वैज्ञानिकद्वय कारिको र भाइस्मान अमेरिकाको यूनिभर्सिटी अफ पेन्सलभानियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भेटेका थिए।
एमआरएनएमा उनीहरूको रुचि त्यसबेला वैज्ञानिक क्षेत्रको असामान्य काम मानिएकाे थियाे।