काठमाडौं । स्थानीय तह जनप्रतिनिधिहरुले हाँकेको ६ वर्ष कटिसकेको छ । यो अवधिमा नागरिकहरुले स्थानीय तहका जनप्रतिनिधिहरुबाट कस्तो अपेक्षा गर्दा रहेछन्, के के गुनासा र आवश्यकता पूरा गर्न सकिने रहेछ, कस्ता आवश्यकताहरु पूरा गर्न नसकिने रहेछ भन्ने जानकारी स्थानीय जनप्रतिनिधिहरुलाई थाहा भइसकेको छ । अझ केन्द्र, प्रदेशले स्थानीय तहमा कस्तो सहयोग गर्ने रहेछन् भन्ने अनुभव पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई जानकारी भइसकेको छ । यस्तै अनुभवहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका कामहरुबारे संवातदाता सविता थापाले भिमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरसँग कुराकानी गरेकी छिन् । मानन्धरसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ ।
जनप्रतिनिधिका रुपमा आउनु भएको पनि ढेड वर्ष पुग्यो, यो अवधिमा के-के काम गर्नुभयो ?
जनप्रतिनिधि भइसकेपछि समयको सदूपयोग पहिलो प्राथमिकता राख्नुपर्छ। पाँच वर्षको कार्यकालमा गर्नुपर्ने काम धेरै छन्। समयको पावन्दीभित्र रहेर मैले जनतामा समर्पिंत भएर काम गरिरहेको छु। मान्छे उसै भगवान, समय नै बलवानु भन्ने उक्तिलाई मनन् गरेर जनताले चाहे अनुरूपका काममा हामी लागि परेका छौं। भिमेश्वर नगरपालिकामा सहर मिश्रित बस्ती छन्। नगरलाई सफा र स्वच्छ बनाउने नगर प्रमुखको दायित्व हो। स्वच्छ नगर बनाउन हामी सधैँ सक्रिय नै छौं। हामीले नगरमा हुने फोहोरको समस्यालाई दीर्घकालिन रूपमा समाधान गरेका छौं। कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गरेका छौं। नकुहिने प्यास्टिकहरूलाई पुनस् प्रयोग गर्ने व्यवस्थापन गरिएको छ। ढल व्यवस्थापनको काम करिव ७० प्रतिशत सकिएको छ। यो आर्थिक वर्षमा ढल व्यवस्थापनको काम सक्ने हाम्रो लक्ष्य छ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा र जनतालाई पिउने पानीको सहजता पुर्याउनु नगरपालिकाको उत्तरदात्यित्व हो। स्वच्छ पिउने पानी पुर्याउन काममा पनि हामी सक्रिय छौं। पालिकाभित्र स्वच्छ पानी पुर्याउनका लागि करिव ९८ प्रतिशत काम भइसकेको छ। हाम्रो नगरवासी कृषि र पशुपालनमा निर्भर छन्। हिमाली क्षेत्र भएकाले यहाँ सम्भावना र चुनौती दुवै छन्। हामी काठमाडौंबाट करिव १२५ किलोमिटरको दूरीमा छौं। जनताको आर्थिक अवस्थालाई ध्यानमा राख्दै कृषि र पर्यटन केन्द्रित कार्यक्रममा हाम्रो सक्रियता छ। नगरका सम्भावनालाई पर्यटनसँग जोड्ने प्रयासमा छौं। अघिल्लो वर्षबाट नगरले अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ् प्रतियोगिता पनि सुरु गरेको छ। गत वर्ष दुई देशका नागरिक संलग्न भएका थिए। यस पटकको प्रतियोगितामा १७ देशका नागरिक सहभागी भएका थिए। यसले हाम्रो नगरलाई विश्वसामू चिनाउन सहयोग गरिरहेको छ। यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो विश्वास छ। सडक निर्माणको कामले पनि गति लिइरहेको छ। हामी विकास र सम्भावनाको नगरपालिकाका रूपमा भिमेश्वरलाई अगाडि बढाउन खोजिरहेका छौं।
जनपेक्षाका प्राथमिक विषय के-के पाउनु भएको छ ?
हामीले पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेका छौं। दोस्रोमा नागरिकले सडक पूर्वाधारका कुरा माग्नुहुन्छ। जनतासँग जोडिएका विषय कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन आदि सबै क्षेत्रलाई प्राथमिकतामा राखेका छौं। एउटा क्षेत्रमा मात्रै विकास गरेर हुँदैन। नगरले सबै वडालाई समेटेर काम गर्नु उपयुक्त हुन्छ।
तपाईंको पालिकाको प्रमुख समस्या के देख्नु भएको छ ?
संविधान अनुसार सरकारका तीन तह छन्। संघीय, प्रदेश र स्थानीय तह। हाम्रो संघीय सरकारसँगको दूरी टाढा छ। हामीलाई संघीय सरकारले प्रदान गर्ने सहुलियत र कार्यक्रमहरू पनि न्यून छन्। प्रदेश सरकार पनि हाम्रो नगरबाट टाढा नै छ। यसले संघ र प्रदेशमा निर्वाचित भएर जाने जनप्रतिनिधिहरूलाई आउन जान निकै टाढा हुन्छ। हामीले बेलैमा संघ र प्रदेशका जनप्रतिनिधिसँग आफ्ना कुरा राख्न सकिरहेका हु्ँदैनौं। यी र यस्ता चुनौतीका बाबजुत पनि हामीले आफ्नो बलबुतामा सकेको काम गरिरहेका छौं। स्थानीय सरकार जनताको नजिकको सरकार हो। हामीले जनतालाई सुख-दुःखमा साथ दिइरहेका हुन्छौं। पालिका तहबाट हुने जनताका काम हामीले गरिरहेका हुन्छौं। यहाँबाट नहुने काम हामीले केन्द्र र प्रदेशमा पहल गरिरहेका हुन्छौं।
जनताका समस्या समाधानका लागि तपाईंका दीर्घकालीन योजना के छन् ?
जनताका समस्या कहिले पनि पूर्णरूपमा निराकरण हुँदैनन्। रोजगारले पनि कहिले पूर्णता पाउँदैन। विकास भन्ने कुराले पनि कहिले पूर्णता पाउँदैन। यो समयानुसार बदलिरहन्छ। हामीले देखिएका समस्या समाधान गर्दै जाने हो। नयाँ समस्या थपिँदै जान्छन्। अहिले हामीले गरेका विकास निर्माणका काम फेरि कुनै विन्दुमा पुगेर पुनस् गर्नुपर्ने हुन्छ। हाम्रा काम चिरस्थायी हुँदैनन्। बनाएको बाटोको पिच कुनै दिन पुनस् बिग्रिन्छ। त्यस्तो अवस्थामा हामीले पुनस् सडक बनाउनु पर्ने हुन्छ। आज बनाएको खाने पानी भोली प्रयाप्त हुँदैन। त्यसैले हामीले समयानुकूल जनताको माझमा रहेर देखिएका समस्या समाधान गर्ने र रणनीतिक रूपमा काम गर्ने गर्नुपर्छ।
पाँच वर्षे कार्यकालमा के-के काम गर्ने योजना बनाउनु भएको छ ?
जनताले चुनेर म यो ठाँउमा आएको हुँ। जनताले म मा केही गर्ने आशा देख्नु भएको छ। त्यही आशाले मलाई जनताले जिताउनु पनि भयो। सडक, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र पर्यटन क्षेत्रमा मैले विशेष काम गर्ने छु। हामी नगरलाई आर्थिक रूपमा सुधार गर्दै अघि बढ्ने छौं। जनताको समस्यालाई व्यवस्थापन गरी सहज जीवनयापनमा सहयोग पुर्याउने छौं।
तपाईंहरूको केन्द्र सरकार र प्रदेश सरकारसँग कस्तो समन्वय भइरहेको छ ? यसका साथै कस्तो सहयोग पाउनु भएको छ ?
अहिले हामी संघीयतामा छौं। तर, संघीयता पनि पूर्णरूपमा कार्यान्वयन भएको अवस्थामा छैन। संघीय सरकार पनि यतिबेला आर्थिक मन्दिका कारण अप्ठ्यारो परिस्थितिमा रहेको छ। संघीय सरकारले स्थानीय सरकारलाई भने जस्तो बजेट छुट्याउन सकेको छैन। त्यसमा हाम्रो गुनासो पनि छैन। किनकि मुलुकमा आर्थिक मन्दिको अवस्था छ। प्रदेश सरकारको त कुरा नै नगर्दा हुन्छ। प्रदेशसँग हामीले आशा गरेका छैनौं र आशा गर्ने अवस्था पनि छैन।
पालिकामा बाटोघाटो, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?
हाम्रो नगरभित्र ९ वडामा १९ वटा स्वास्थ्य केन्द्र छन्। प्रत्येक वडामा गएर हामीले वर्षको एक पटक जेष्ठ नागरिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्छौं। त्यसमाआँखा चेकजाँच, सुगर, प्रसर चेकजाँच गर्छौं। चरिकोटको अस्पताल र त्यहाँको डाक्टरसँगको समन्वयमा उपचार गराइरहेका छौं। शिक्षाको क्षेत्रमा भने केही परिमार्जन गर्नुपर्ने, सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले गरेरमात्र सम्भव हुँदैन। सरोकारवाला सबै निकायसँगको समन्वय आवश्यक हुन्छ। हाम्रो पालिकाबीच भएर राजमार्ग गएको छ। हाम्रो पालिकामा ४४ किलोमिटर सडक राजमार्गमा पर्छ। चरिकोटदेखि कालिञ्चोक गाँउपालिका र भिमेश्वर नगरपालिकाको सीमाना सुन्द्रावती खोलासम्मको करिव ११ किलोमिटर बाटो पक्की छ।
भिमेश्वर नगरपालिकाको केन्द्र चरिकोट कालिञ्चोक मन्दिरको प्रवेशद्वार हो। मन्दिर पुग्ने १७ किलोमिटर मध्ये भिमेश्वर नगरपालिकामा १५ किलोमिटर सडक छ। हामीले १५ किलोमिटर मध्ये ५ किलोमिटर सडक यस आर्थिक वर्षमा कालोपत्रे गर्ने योजना बनाएका छौं। अन्य पालिकासँग जोडिने सडकहरू पूर्ण रूपमा कालोपत्रे नबने पनि त्यसलाई नाला बनाएर सोलिङ गर्ने काम गरेर बस चलाउन सकिने अवस्था यही आर्थिक वर्ष भित्रमा पुर्याउन लागि परेका छौं।
तपाईंको पालिकामा कर्मचारीको व्यवस्थापन कस्तो छ ?
यस नगरमा आवश्यकता अनुसारका कर्मचारीहरू परिचालन भएका छैनन्। निजामती र लोकसेवाबाट पठाउनु पर्ने कर्मचारीहरू पठाएको अवस्था छैन। त्यसैले हामी कर्मचारी अभाव खेप्दै काम गरिरहेका छौं।