काठमाडौं । नेपाल टेलिकम एनटीसीले पुस १ गतेदेखि लागू हुने गरी नयाँ सुविधा लागू गर्ने जनाएको छ ।
एनटीसीले नयाँ प्रिपेड सिमकार्ड लिँदा पाउने सुविधा थप गरेको जनाएको हो ।
रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा रहेको एनटीसीमा अब पुस एक गतेदेखि भने नयाँ सिमकार्ड किन्दा १ जीबी डाटा, १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पाउने सुविधा रहेको हो ।
यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम
कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध गराउने एनटीसीले जनाएको छ ।
सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
डाटा बोनस
विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध हुनेछ । एनटीसीका अनुसार रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।
एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।
त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।
यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुने एनटीसीले जनाएको छ ।