
भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका-२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-५ पिखेलबाट पक्राउ गरेको हो ।
त्यस्तै झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका-२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।