परीक्षा ९० सेकेण्ड अगावै सकिएपछि विद्यार्थीले हाले सरकारविरुद्ध मुद्दा

Share:

एजेन्सी । परीक्षा ९० सेकेण्ड अगावै सकिएपछि विद्यार्थीले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् ।

दक्षिण कोरियाका विद्यार्थीहरूको एउटा समूहले सरकारविरुद्ध मुद्दा हालेको हाे । यस मुद्दाको कारण कलेज भर्नाका लागि लिइएको प्रवेश परीक्षा निर्धारित समयभन्दा ९० सेकेण्ड अगावै सकिएकाे विषाय हाे ।

यी विद्यार्थीहरूले सरकारसँग मुद्धा मार्फत दुई करोड यान क्षतिपूर्ति माग गरिरहेका छन् । यो रकम १५,४०० डलर बराबर छ। यो परीक्षाको लागि फेरि तयारी गर्न दक्षिण कोरियामा विद्यार्थीलाई धेरै खर्च लाग्ने बताइएकाे छ।

यस गल्तीका कारण विद्यार्थीको परीक्षा प्रभावित भएको बताइएकाे छ । दक्षिण कोरियाको कलेज भर्ना परीक्षालाई उक्त देशमा सुनयुङ भनिन्छ। आठ घण्टासम्म चल्ने यो म्याराथन परीक्षाको आलोचना पनि भइरहेको छ । यसमा एकपछि अर्को धेरै विषयको परीक्षा लिइन्छ ।

सुनयुङलाई विश्वको सबैभन्दा कठिन परीक्षामा गनिन्छ र यसमा विद्यार्थीहरूका लागि धेरै कुराहरू जोखिममा छन्। सुनयुङको नतिजाले विश्वविद्यालय भर्नादेखि लिएर जागिर र भविष्यको सम्बन्धसम्म सबै कुरालाई असर गर्ने तथ्यबाट पनि यस परीक्षाको महत्त्वको अनुमान लगाउन सकिन्छ।

विद्यार्थीहरू यस वार्षिक परीक्षामा ध्यान केन्द्रित गर्न र विचलित हुन नपरोस् भन्ने सुनिश्चित गर्न धेरै कदमहरू चालिएका छन्। यस वर्ष सुनयुङको नतिजा डिसेम्बर ८ मा सार्वजनिक भएको थियो ।

मंगलबार दायर भएको यस मुद्दामा कम्तीमा ३९ विद्यार्थी पक्षधर बनेका छन् । राजधानी सियोलमा रहेको परीक्षा केन्द्रमा निर्धारित समयभन्दा अगाडि नै घण्टी बजाइएको उनीहरुको दाबी छ ।

यस्तो परीक्षाको पहिलो पेपर कोरियन भाषा परीक्षाको क्रममा भएको थियो। त्यसबेला केही विद्यार्थीले विरोध गरेका थिए तर अनुगमन पर्यवेक्षकले कागज लिएर गएको उनीहरूको भनाइ छ ।

अर्को सत्रअघि शिक्षकहरूले आफ्नो गल्ती स्वीकार गर्दै खाजाको विश्राममा विद्यार्थीहरूलाई डेढ मिनेट अतिरिक्त समय दिए पनि यस अवधिमा उनीहरूले अनुत्तरित प्रश्नहरूको मात्र जवाफ दिन सकेका थिए र पहिले नै दिइएका उत्तरहरूमा परिवर्तन गर्न दिइएकाे थिएन।

समाचार एजेन्सी योनहापको रिपोर्टका अनुसार, विद्यार्थीहरूले बाँकी परीक्षाहरूमा राम्ररी ध्यान दिन नसक्ने बताए। कतिपय विद्यार्थी परीक्षा बिचमै छाडेर घर फर्किएको बताइएको छ ।

विद्यार्थी पक्षधरका वकिल किम वू सुकले स्थानीय सञ्चारमाध्यमलाई भने कि शिक्षा विभागका अधिकारीहरूले घटनाका लागि अहिलेसम्म माफी मागेका छैनन्। सरकारी मिडिया प्लेटफर्म केबीएसले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै परीक्षाको अनुगमनको पर्यवेक्षकले समय हेर्दा गल्ती गरेको बताएको छ।

दक्षिण कोरियामा परीक्षाको समयअघि शिफ्टको घण्टी बज्ने यो पहिलो घटना होइन। अप्रिलमा, सियोल अदालतले २०२१ को सुनयुङ परीक्षामा यस्तै घटनाका लागि प्रभावित विद्यार्थीहरूलाई ७० लाख यान क्षतिपूर्ति दिने आदेश दिएको थियो। त्यतिबेला परीक्षा सकिँदाको घण्टी निर्धारित समयभन्दा दुई मिनेट अगाडि नै बजेको विद्यार्थीले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्