आबुँखैरेनीमा सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या बढाउन ‘अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम’

Share:
काठमाडौँ । तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या बढाउन नयाँ कार्यक्रम ल्याएर कार्यान्वयन थालेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम’ ल्याएको गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयन सुरु गरेको छ।

‘चालु आर्थिक वर्षमा अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भनिएको थियो । १५ लाख रुपैयाँ बजेट सो कार्यक्रममा छ । अहिले त्यो कार्यक्रम सुरु भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले भने ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र शिक्षाको अवस्था सुधार गर्न यस्तो कार्यक्रमको अवधारणा ल्याइएकाे बताए । गाउँपालिका नेतृत्वबाट आएको इनोभेटिभ कार्यलाई सरोकारवाला सबैले सहयोग गरेर कार्यान्वयनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ ।

गाउँपालिकाले सो कार्यक्रम पहिलो चरणमा भौगोलिक रुपमा विकट तथा आर्थिक रुपमा पछाडि परेका क्षेत्रबाट सुरु गर्न थालेको छ । पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ गरी ३ वटा वडामा यो कार्यक्रम संचालन हुनेछ ।

संघीय सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा पालिकाको यो कार्यक्रम जोड्ने गरी यसको संरचना तयार पारिएको छ । संघीय सरकारको स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रुपैयाँ तिरेर ४ जनासम्मको परिवारलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च बीमाबाट पाउने व्यवस्था मिलाइएको छ । आँबूखैरेनी गाउँपालिकाले पनि सोही कार्यक्रममा जोडेर विद्यार्थी तथा अभिभावकको स्वास्थ्य बीमा गरिदिनेछ ।

स्वास्थ्य बीमामा लाग्ने सबै रकम गाउँपालिकाले दिनेछ भने उनीहरुको उपचार पनि गाउँपालिकाले संचालन गरेको अस्पतालमा हुनेछ । सो गाउँपालिकाले १५ शैय्याको आफ्नै अस्पताल संचालन गरेको छ । सो अस्पतालमा उपचार हुन नसकेका बिरामीको अन्यत्रका अस्पतालमा रिफर गरिने र त्यसरी रिफर भएर जाने बिरामीको पनि स्वास्थ्य बीमाबाट उपचार हुने गाउँपालिकाले जनाएकाे छ ।

कार्यक्रम संचालनका लागि गाँउपालिकाले आवश्यक नियम कानून निर्माण गरिसकेको छ । सम्बन्धित बिद्यालयहरुको सिफारिस सहित वडाहरुबाट बिद्यार्थी र उनीहरुको अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने, बीमा नवीकरण गर्ने कार्य सुरु भइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्