काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत भएर आए प्रदीप परियार

Share:

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव प्रदीप परियारलाई काठमाडौंको नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको छ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गरिएको छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत परियार राष्ट्रिय योजना आयोगमा कार्यरत थिए। त्यसअघि उनी शहरी विकास मन्त्रालयमा थिए।

नगर कार्यपालिकाको निर्णय हेरफेर गरी ‘आफन्त’लाई जागिर खुवाएको आरोपमा काठमाडौंका मेयर बालेन्द्र शाहले आन्तरिक अनुसन्धान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए। माघ १० गतेसम्म बिदामा बस्न भनिएका अधिकारीले बीचमै कार्यालय फर्किने तयारी गरेपछि मेयर बालेनले उनको कार्यकक्षमा ताला नै लगाउन लगाएका थिए।

पुसमा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय उल्टाउँदै वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरी सुप्रिया ढुंगेललाई नियुक्त गर्न चलखेल गरेको पाइएपछि मेयर बालेनले आन्तरिक छानबिन थालेका थिए।

उक्त प्रकरणमा बालेनकै सचिवालयमा रहेका नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरिएको थियो।

स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने कार्यपालिकाको निर्णय उल्टाउँदै ६ जनाको नाम राखेर बिडारीकी छोरी सुप्रियाको नाम राखेको पाइएको थियो।

 

कमेन्ट गर्नुहोस्